काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको गत सोमबार (असार ११) गतेको बैठकमा ‘हद’ पार गरेका छन् । उनले सभामुखको भूमिका निर्वाह गर्ने क्रममा संसदकै गरिमामाथि धावा बोलेका हुन् । विधि र शासनमा चल्ने संसदमा सभामुख महराले पार्टीकै एजेन्डा जसरी दुई तिहाईको दम्भ प्रस्तुत गरेका हुन् ।
महराले विभागीय मन्त्रीको उपस्थिति बिना नै विनियोजन विधेयकमा छलफल चलाउन खोजे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नियमापत्ति जनाउँदासमेत सभामुख महराले ‘धेरै विनियोजन विधेयकमा छलफल गर्नुपर्नेछ अगाडि बढौं’ भनेर काँग्रेस सांसदहरुलाई रोक्न खोजे ।
जबकि विभागीय मन्त्रीको उपस्थिति बिना उक्त मन्त्रालय बारेमा सांसदहरुले जिज्ञासा राख्नुको कुनै औचित्य रहँदैन । गृहमन्त्रालयको बारेमा विनियोजन विधेयकमा छलफल हुनुपर्ने थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संसद बैठकमा उपस्थित थिएनन् । सांसदहरुले मन्त्री बिना कसरी छलफल गर्ने भनी प्रश्न सोध्दा उनी भन्दै थिए –मन्त्रालयका कर्मचारी साथीहरु हुनुहुन्छ उहाँहरुले जिज्ञासा टिप्नुहुनेछ । मन्त्रालयका कर्मचारी सभामुखका साथी कसरी भए ?
त्यसपछि काँग्रेसका सबै सांसद उठेर विरोध जनाए । यो कहाँको शैली हो भन्दै आपत्ति जनाए । त्यति हुँदा पनि सभामुख महराले गृहमन्त्री थापालाई कहिले ‘मन्त्रालयबाट हिंडिसक्नुभयो’ कहिले ‘ट्राफिक जाममा पर्नुभएको छ’ जस्ता जवाफ दिइरहेका थिए । सांसदहरुको सवाल र सभामुखको जवाफले केही क्षण संसदमा हाँसोको फोहरा चलेको थियो ।
संसदको त्यो क्षणले संसदको माहोल रमाइलो बनाएको होइन ‘जग’ हँसाएको हो । कानुनी राज्यमाथि धावा बोलिएको हो । ख्यालठट्टा गरिएको हो । सभामुख कानुन बनाउने सांसदहरुका ‘मनिटर’ हुन् । उनले कानुन कस्तो बनाउने र कसरी उत्कृष्ट बनाउने भन्नेतिर लाग्ने हो । अनि त्यही बनेको कानुनमा टेकेर संसद अगाडि बढाउने हो ।
तर सभामुख महरा संसद नियमावलीमा रहेर अगाडि बढेजस्तो देखिएको छैन । उनले कसैको पक्षपोषण गर्ने र कसैलाई पाखा पार्ने नीति अवलम्बन गर्न पाउँदैनन् । व्यक्ति खराव हुन सक्ला तर सभामुखको पद खराव हुन सक्दैन । तसर्थ सभामुख महराले कसैलाई काखा र कसैलाई पाखा गर्न पाउँदैनन् ।
किन त्यसो गरे सभामुखले ?
सभामुख महरा र रामबहादुर थापा बादल पहिले एउटै दलका थिए । दुवै तत्कालीन नेकपा माओवादी केन्द्रका नेता थिए । माओवादी र नेकपा एमालेबीच पार्टी एकीकरण भएपछि अहिले (नेकपा) बनेको छ । (नेकपा)का नेता हुनुपूर्व नै महरा सभामुख बने । सभामुख बन्दा पार्टीको सदस्यता त्याग्नुपर्ने प्रावधान छ ।
सदस्यता त्याग्नुपर्ने भए पनि महरामा ‘ह्याङ’ बाँकी छ । उनले बादललाई आफ्नै ठाने । त्यसैले त कहिले मन्त्रालयमा हुनुहुन्छ भने । कहिले ट्राफिक जाममा हुनुहुन्छ भनेर हाँसे । गृहमन्त्रीले ट्राफिक जाममा बस्नु परेको रेकर्ड छैन ।
एक काँग्रेस नेताका अनुसार सभामुखले आफ्नो पदीय मर्यादा नाघेका हुन् । उनका अनुसार सभामुखले नाटकीय ढंगले काँग्रेसलाई माइनस गर्न खोजेका हुन् । यो प्रवृत्ति गम्भीर खालको भएको विष्लेषण गर्न थालिएको छ ।
काँग्रेसले किन खोज्यो सभामुख र उपसभामुख छुट्टाछुट्टै
संसद विनियमावलीमै छ कि सभामुख र उपसभामुख एक पार्टीको हुन पाइँदैन । त्यसो भयो भने संसद पनि तानाशाही बन्न सक्छ । त्यसैले त भनिन्छ यही तानाशाही प्रवृत्ति नआओस् भनेर सभामुख एक पार्टीको र उपसभामुख अर्को पार्टीको हुनुपर्ने नियम नै छ । त्यसलाई अहिलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धज्जी उडाएको छ । (नेकपा) गठन हुनुअघि एमाले र माओवादीले सभामुख र उपसभामुखमा भागबण्डा गरेका थिए ।
अहिले त्यसको असर देखिएको छ । (नेकपा) ले भने पहिले पार्टी छुट्टाछुट्टै रहेको र अहिले मात्र पार्टी एकता भएको जनाएको छ । तर निर्वाचनमा एउटै घोषणापत्र हुनु र अहिले फेरि विधिको शासनको खिल्ली उडाउँदा पनि विज्ञहरु ‘तैंचुप मैंचुप’ जस्ता देखिएका छन् ।
सभामुखको अर्को बलमिच्याइँ
सभामुख महराले गत मंगलबारको संसद बैठकमा पनि फेरि बलमिच्याईँ गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरेपछि संसदलाई जानकारी गराउनका लागि उपस्थित भए । उनले बोलिसकेपछि सांसदहरुसंग प्रश्नोत्तर गर्नुपर्ने थियो ।
सभामुखले एक जनाले मात्र बोल्न मिल्ने सर्त राखेर एक जनालाई बोल्न दिए । काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढूले बोले । त्यसपछि सभामुख महराले अरुलाई बोल्न दिएनन् । अर्थात् उनी आफू अनुसार चलिरहेका छन् ।
महराले प्रधानमन्त्रीको व्यस्तता र स्वास्थ्यलाई ख्याल राख्दै भन्दै बिदा दिए । तर अचम्मको कुरा प्रधानमन्त्रीले स्वास्थ्य र व्यस्तताको जिकिर संसदमा गरेका थिएनन् । संसदको प्रमुख सभामुख हुन्छ । फेरि महराको यो तरिका के ? यो बलमिच्याईँ के ?