काठमाडौं । नेपाली काँग्रेसले धान दिवस मनाएको छ । ‘धान उत्पादनमा वृद्धि र राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाइँदै रहँदा काँग्रेसले पार्टी मुख्यालय विपीनगर सानेपामा एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको हो ।
कार्यक्रममा विभिन्न नेताहरु सम्मिलित रहेका थिए । उनीहरुले आपसमा मिलेर ‘दही च्यूरा’ खाएका छन् । असार १५ मा दही च्यूरा खाने गरिन्छ ।
कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष सरकारकै अग्रसरतामा धान दिवस मनाइँदै आइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट दिवस मनाउन थालिएको हो । २०६२ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । मानो रोपेर मुरी फलाउने भनिए पनि अहिले खेतीयोग्य जमीनको अभाव बढ्दै गएको छ ।
सरकारले कृषिका लागि व्यवस्थित कार्यक्रम ल्याउन नसकेपछि यसको लगानी बालुवामा पानी हालेसरह भएको छ । ४३ लाख नेपाली रोजगारीका लागि विदेशमा भौतारिरहेका छन् ।
धान नेपालको विशेष बाली भएपनि अहिले प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल आयात हुन्छ । सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिए पनि त्यो फगत योजनामात्र भएको काम गराइको शैली हेर्दा दावी गर्न सकिन्छ ।