डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार युनेस्कोलाई
प्रकाशित २०७५ असार १७ आइतबार
624
Shares
काठमाडौं । यो वर्षको डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार शिक्षा, विज्ञान, संस्कृति, सञ्चार एवं सूचनाका माध्यमबाट नेपालमा शान्ति निर्माण, गरिवी न्यूनिकरण तथा दिगो विकास प्रवद्र्धनका क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरुप युनेस्कोलाई प्रदान गरिएको छ ।
पुरस्कार समारोह पर्सि विहान ८.०० बजे, डा. डिल्लीरमण रेग्मी फाउण्डेशन, लाजिम्पाटमा हुनेछ । पुरस्कार समारोहमा महानिर्देशकको प्रतिनिधित्व गर्दै नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहार्ट सहभागी हुनेछन । यो पुरस्कार ग्रहण गर्न पाउँदा अत्यन्तै सम्मानित भएको महशुस गरेको युनेस्कोका महानिर्देशक औद्रे अजौलेले बताए ।
नेपाल र यहाँका जनताहरुको दिगो विकासका लागि युनेस्कोले पुर्याको योगदानलाई सम्मान गरेकोमा डा. डिल्लीरमण रेग्मी फाउण्डेशनलाई धन्यवाद दिएको छ । युनेस्को काठमाडौं कार्यालयले २० औं वर्षगाँठ मनाइरहेको बेला यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
नेपाल र यहाँका जनताको शान्ति र समुन्नतिका लागि योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई डिल्लीराम रेग्मी फाउण्डेशनद्वारा यो पुरस्कार बार्षिकरुपमा प्रदान गरिन्छ । गएका वर्षहरुमा नेलशन मण्डेला, माहात्मा गान्धी, जिमी कार्टर, टोनी हेगन र बान की मून जस्ता विशिष्ट व्यक्तिहरुलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
गान्धीको अहिंसावादी दर्शनका अनन्य भक्त एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रजमध्येका एक डा डिल्लीरमण रेग्मी (१९१३–२००१) को स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय शान्ति पुरस्कार र डिल्लीरमण–कल्याणी रेग्मी पुस्तकालय एवं संग्रहालयका माध्यमबाट उहाँको विरासतलाई सजीव तुल्याइको छ ।