arrow

क्वाटरफाइनल पुग्न स्पेनलाई रुसको चुनौती, कसले मार्ला बाजी

logo
प्रकाशित २०७५ असार १७ आइतबार
spain-russia.png

काठमाडौं । आइतबार विश्वकपको अन्तिम १६ अन्तर्गत स्पेन र रुसको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । समुह 'ए' को उपविजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको रुस र समुह 'बी' को विजेता हुँदै अन्तिम १६ मा स्थान बनाएको स्पेनको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

विश्वकपको दाबेदार मानिएको स्पेन समुह बीको विजेता टोली हो । यो टोलीले समुह चरणमा पनि निकै राम्रो प्रदर्शन गरेको थियो । समुह चरणमा एक जित र दुई बराबरीको नतिजा हासिल गरेको स्पेनले माथिल्लो चरणको लागि भने आफ्नो खेलमा सुधार गर्नुपर्ने देखिन्छ । एकपटक विश्वकपको उपाधि जितिसकेको यो टोली कुनै पनि टोलीलाई हराउनसक्ने क्षमता भएको टोली हो । यो टोलीको खेल सन्तुलित अवस्थामा रहेको छ भने सबै क्षमतावान् खेलाडीहरु छन्  ।

यद्यपि घरेलु टोली रसियाले पनि समुहचरणमा राम्रो प्रदर्शन गरेको थियो । साउदी अरेबियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको यो टोलीले दोस्रो खेलमा इजिप्टलाई पनि ३–१ गोलअन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा भने उरुग्वेसँग ३–० को हारको सामना गरेको थियो । यस्तोमा उसलाई स्पेनसँगको खेलमा केही सुधार भने पक्कै गर्नुपर्ने देखिन्छ । सन् २०१० को विजेता टोली चार वर्षअधिको विश्वकपमा गरेको खराब नतिजालाई बिर्सिँदै उपाधि उचाल्ने लक्ष्यका साथ रुस पुगेको हो । उसलाई हराउनु रुसको लागि ठुलो चुनौती हुनेछ ।

आइतबार यी दुई टोलीहरु आमनेसामने हुँदा रुसलाई घरेलु मैदानको केही सहयोग भने मिल्नसक्छ । यद्यपि क्वार्टरफाइनलमा पुग्नका लागि रुसको टोलीले आइतबार निकै राम्रो प्रदर्शन गनुपर्ने हुन्छ । रुसको लागि क्वार्टरफाइनलमा पुग्नु पनि ठुलो सफलता हो, त्यसैले उसले आइतबारको खेलमा निकै सम्हालिएर प्रदर्शन गर्नु जरुरी हुन्छ ।

हेड टु हेड
आइतबार स्पेन र रुसको बीचमा सातौंपटक भेट हुन लागेको हो । यस्तोमा स्पेन अहिलेसम्म अपराजित छ । स्पेनले चार खेल जितेको छ भने बाँकी दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो समय सेन्ट पिटर्सवर्गमा गएको नोभेम्बर महिनामा दुई टोलीको बीचमा प्रतिस्पर्धा भएको थियो, जसमा दुवैले बराबरीको नतिजा हासिल गरेका थिए ।

प्लेयर्स टु वाच
इस्को (स्पेन)

इरानविरुद्धको खेलमा स्पेनका आक्रामक मिडफिल्डरको भूमिका निकै महत्वपूर्ण रहेको थियो । उनले टोलीलाई महत्वपूर्ण समयमा गोल दिलाएका थिए । जसले अन्तिम १६ मा स्थान बनाउनको लागि स्पेनको बाटो सहज भएको थियो । २६ वर्षीय यी खेलाडीले आइतबारको खेलमा पनि महत्वपूर्ण प्रदर्शन गर्न सक्छन् ।

एलेक्सेन्डर गोलोभिन (रुस)
उरुग्वेसँगको खेलमा गोलोभिनले सुरुवातमा मौका पाएका थिएनन्, जसको कारण रुसले ३–० को हारको सामना गर्न पुग्यो । आक्रामक खेल प्रस्तुत गर्ने २२ वर्षीय यी खेलाडी आइतबारको खेलमा स्पेनविरुद्ध निकै महत्वपूर्ण बन्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ