काठमाडौं । विवेकशील साझा पार्टीले मानव अधिकार,सामाजिक न्याय,समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला” संचालनमा ल्याएको छ।
पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अन्तरकृया शृंखलामा समानता,सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे मासिक अन्तरकृयात्मक वहस शुरु गरिएको विभागको प्रमुख समेत रहनु भएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले वताए ।
श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्ड वाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिवारवाट आरम्भ गरिएको छ । समता संवादमा आफ्नो प्रस्तुती राख्दै सामाजिक अभियानकर्ता चौधरीले ६ वर्षको उमेरदेखि कमलरी जीवनमा भोग्नु परेको हिंशा,दमन,विभेद देखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकावारे आफ्ना अनूभव, भोगाई,सिकाई तथा प्रेरणादायी विचारहरू पस्किए । 'समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर वोल्न,सकृयता देखाउन र अभियान संचालन गर्न तपाई हामी एक जुट हुनै पर्छ, चौधरीको भनाई थियो ।
समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समानता विनाको संवृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशिता पार्टीको मुटु भएको संज्ञा दिए । अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए ।