रसियाले क्वार्टरफाईनलमा क्रोएसिया र डेनमार्कको बिजेतासँग खेल्ने
प्रकाशित २०७५ असार १७ आइतबार
341
Shares
काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको क्वार्टरफाईनलमा आयोजक रसिया प्रवेश गरेको छ। रसियाले टाइब्रेकरमा २०१०को बिजेता स्पेनलाई ४-३ गोलले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा रसिया र स्पेनले १-१ गोलको बराबरी गरेका थिए। खेल नतिजाकालागि आधा घण्टाको थपिएको समयमा दुवैतिरबाट गोल हुननसक्दा खेल टाईब्रेकरमा गएको थियो।
टाईब्रेकरमा रसियाका गोलकिपर एकिनफिवले २ पेनाल्टी बचाउँदै आफ्नो टोलीलाई जिताएका थिए। उक्त जितका हिरो रसियाका गोलकिपर भए।
स्पेनका कोके र आसपासको पेनाल्टी एकिनफिवले बचाएका थिए। रसियाले हानेको ४ पेनाल्टी ४ वटै गोलमा परिणत भएको थियो।
निर्धारित ९० मिनेटको खेलको १२औं मिनेटमा रसियाका सर्जेई ईग्नासेविचले आत्मघाति गोल गर्दै स्पेनलाई १-०को अग्रता दिलाएका थिए।
त्यसैगरि ४१औं मिनेटमा रसियाले पाएको पेनाल्टीलाई आर्तेम ड्युबाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए। स्पेनका रक्षापंक्तिका खेलाडी पिकेले हातले बल रोक्दा रसियाले पेनाल्टी पाएको थियो।
रसियाले स्पेनको आक्रमणलाई निस्तेज पारेको थियो भने स्पेनले बललाई आफ्नो नियन्त्रणमा धेरै राखे पनि गोल भने गर्न सकेको थिएन।
रसियाले क्वार्टरफाईनलमा क्रोएसिया र डेनमार्कको बिजेतासँग खेल्ने छ।