arrow

आलोचकको मुख बन्द गर्न रुस सफल, विश्वकपमा को ठूलो को सानो 

logo
प्रकाशित २०७५ असार १८ सोमबार
russia-win.jpg

काठमाडौं । आलोचना गर्न जत्तिको सजिलो अरु कुनै चिज हुन्न होला । त्यसैले त मानिस आलोचना गर्न हतारिन्छ । विश्वकप फुटबलको २१ औं संस्करणसम्म आइपुग्दा सबैभन्दा कमजोर आयोजकका रुपमा रुसलाई लिइएको थियो । 

तर रुसले पहिलो पटक विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेर सनसनी मच्यायो । त्यो पनि सन् २०१० को विजेता स्पेनलाई प्रिक्वार्टरफाइनलमा हराएर । 

आइतबार राति भएको प्रिक्वार्टरफाइनल बराबरीको खेल थिएन । खेलको पोसेसन हेर्ने हो भने ७६ प्रतिशत बल स्पेनको पक्षमा थियो । केवल २४ प्रतिशत बल रुसको थियो । 

१२ औं मिनेटमा रुसले आत्मघाती गोल गर्यो । ४१ औं मिनेटमा रुसले गोल गर्दै बराबरी गर्यो । त्यसपछि ९० मिनेटसम्म गोल भएन । थपिएको ३० मिनेटमा पनि गोल भएन । पेनाल्टी सुटआउटमा रुसले ४–३ ले बाजी मार्यो । 

फुटबलमा बल कसले कति बढी समय खेलायो हैन कसले गोल गर्यो उसैले जित्छ । रुसले चमत्कार गर्यो । रुसी गोलकिपर इगोर एकिनफिभले कमालको प्रदर्शन गरे । थुप्रै गोल हुने बल रोके । अनि पेनाल्टीमा दुई बल रोके । 

रुसले सम्भवतः ती आलोचकको बोली बन्द गरिदिएको छ जसले आलोचना गलत सावित हुँदा पनि कार्वाही भोग्नु पर्दैन । रुसले नसोचेको प्रदर्शन गर्यो । 

९० मिनेटको खेल निरसजस्तै थियो । स्पेनले त्यतिधेरै समय बललाई नियन्त्रणमा लिएर पनि गोल गर्न सकेन । रुसको डिफेन्स निकै मजबुद थियो । त्यत्तिकै मजबुद थिए गोलकिपर । 

१९ फाउल रुसले गरेको थियो भने ५ फाउल स्पेनबाट भएको थियो । खेल कतै पनि ‘रफ’ थिएन । रुसले २ पहेंलो कार्ड र स्पेनका जेरार्ड पिकेले पहेंलो कार्ड खाएका थिए । 

अर्थात् रुसी खेलाडीहरु त्यति परिचित छैनन् । केहीमात्र देश बाहिर खेल्छन् भने अधिकांश आफ्नै राष्ट्रमा लिग खेल्छन् । तर स्पेनका लागि सबैजसो खेलाडी चर्चित क्लवमै छन् । 

स्पेनको हैसियत देखियो । स्पेनमा एकसेएक खेलाडी छन् । तर गोल नगरेपछि जतिसुकै चर्चित खेलाडी भए पनि त्यसले अर्थ राखेन । 

रुसले आयोजकका हैसियतले निकै राम्रो खेल्यो । समूह चरणमा पनि रुसले राम्रो खेलेको थियो । साउदी अरेबियालाई ५–० ले र इजिप्टलाई ३–१ ले हराएको थियो । उरुग्वेसंग भने ३–० ले हारेको थियो । 

विश्वकपको आयोजना गर्नु र त्यसमा तयारी राम्रो नगर्ने भन्ने विषय नै उठ्दैन । तर कमजोर आँकियो । आयोजकको हैसियतले क्वार्टरफाइनलमा पुगेर रुसले विश्वकप नै जितेजस्तो भएको छ । 

किनकि यसअघि नै डिफेन्डिङ च्याम्पियन जर्मनी, डिफेन्डिङ रनरअप अर्जेन्टिना, दावेदार पोर्चुगल र पूर्व विजेता स्पेन त बाहिरिइसकेका छन् । 

विश्वकपमा पुग्ने टिम एकसेएक छन् भन्नेमा शंका किन गर्नु ? जबकि विश्व राजनीतिमा माहिर अमेरिका विश्वकपमा पुग्नै सकेन । इटाली पनि विश्वकपमा पुग्नै सकेन । नेदरल्याण्ड्स पनि छनोट भएन । यसरी छोटिँदै छन् दावेदार पनि । कमजोर नआकौं कुनै पनि टिमलाई । किनकि रुस साक्षी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ