काठमाडौं । विवेकशील साझा पार्टीले मानव अधिकार,सामाजिक न्याय,समावेशीता तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अर्न्तक्रियात्मक कार्यक्रम “समता संवाद श्रृंखला” थालेकाे छ ।
पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले शुरु गरेको अर्न्तक्रियात्मक शृंखलामा समानता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाबारे मासिक अर्न्तक्रियात्मक वहस शुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए ।
श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्डबाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शृंखला आरम्भ गरिएको छ । समता संवादमा सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरबाट कमलरी जीवनमा भोग्नु परेको हिंसा, दमन, विभेददेखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाई, सिकाई तथा प्रेरणादायी उदाहरण सुनाइन् ।
उनले भनिन्, 'समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर वोल्न,सकृयता देखाउन र अभियान संचालन गर्न तपाई हामी एक जुट हुनै पर्छ ।' विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समनता विनाको संवृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशितालाई पार्टीको मुटु हाे, भने । अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए ।
अर्न्तक्रियामा पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना र समता अभियानकर्ता प्रतिक क्षेत्रीले सहजीकरण गर्नु भएको थियो । अर्न्तक्रिया कार्यक्रम “समता संवाद श्रृंखला”को अर्को प्रस्तुती साउन दोश्रो साता हुने विभागले जनाएको छ ।