arrow

ठुला टोलीहरु हार्दै गर्दा ब्राजिललाई मेक्सिकोसँग शाख जोगाउने चुनौती

logo
प्रकाशित २०७५ असार १८ सोमबार
brazil1.png

काठमाडौं । रुस विश्वकपको अन्तिम १६ मा सोमबार ब्राजिल र मेक्सिकोको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार उनीहरुको बीचमा सोमबार बेलुका पौने ८ बाट प्रतिस्पर्धा सुरु हुन गइरहेको हो । समुह ई को विजेता ब्राजिल र समुह एफको उपविजेता मेक्सिकोको बीचमा यो खेल हुन लागेको हो ।

छैठौं उपाधिको खोजीमा रहेको ब्राजिलले समुह चरणको खेलमा राम्रो प्रदर्शन गरेको थियो । तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा हासिल गरेको टोलीमा सबै खेलाडीहरु उत्कृष्ट लयमा रहेका छन् । पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको टोलीले समुहचरणको बाँकी खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आफ्नो प्रदर्शनमा सुधारको लागि ब्राजिलले तयारी पनि तीव्र पारेको छ ।

इतिहास र अहिलेको टोलीको लय हेर्ने हो भने सोमबारको खेल ब्राजिलको लागि सहज हुनेछ तर टोलीका मुख्य खेलाडी नेयमारमाथि भइरहेको अत्यधिक मार्किङ र अन्य खेलाडीहरुको प्रदर्शन आशा गरिएअनुसारको नरहेको अवस्थामा भने यो टोलीका लागि एक समस्या बन्न सक्छ । ब्राजिलका फुटबल अधिकारीहरुले आफूहरुको सबै खेलाडीहरु आफ्नो भूमिका राम्रोसँग निभाउन सक्षम रहेको कारण सोमबारको खेलमा ब्राजिल कुनै एक खेलाडीमा निर्भर नरहने बताएका छन् । यद्यपि उनीहरुले मेक्सिकोसँगको खेल ब्राजिलका लागि सहज भने नहुने बताए । समुहचरणमा स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको टोलीका लाथि सोमबारको खेल पनि उक्त खेलभन्दा कम चुनौतीपूर्ण भने नहुने बताइएको छ ।

मेक्सिकोले पनि यो विश्वकपमा राम्रो प्रदर्शन गरेको छ । पहिलो खेलमै जर्मनीलाई पराजित गरेको टोलीमा अहिले धेरैको नजर छ । मेक्सिकोले अन्तिम १६ मा प्रवेश गर्ने क्रममा ६ अंक हासिल गरेको थियो । जसमा जर्मनी र दक्षिण कोरियालाई हराउँदा स्वीडेनसँग भने पराजित भएको थियो । यस्तोमा ब्राजिलाई रोक्दै क्वार्टरफाइनलमा पुग्ने मेक्सिकोको दाउ रहेको छ । त्यसका लागि उसले आफ्नो प्रदर्शनमा निकै सुधार गर्नुपर्ने देखिन्छ । पूर्व विजेतालाई पराति गरेर घर फर्काउन सफल भएको टोलीको आँखा ब्राजिल हराउँदै स्वर्णिम इतिहास लेख्नु हुनेछ । यद्यपि ब्राजिल सन् १९९० यता अन्तिम १६ बाट बाहिरिएको छैन ।

हेड टु हेड
इतिहास हेर्ने हो भने स्वाभाविकरुपमा नै ब्राजिलको पल्लाभारी देखिन्छ । अहिलेसम्म यी दुई टोलीहरु ४० पटक आमनेसामने भएका छन्, जसमा ब्राजिल २३ पटक विजयी भएको छ भने मेक्सिकोले १० पटकको खेलमा बाजी मारेको छ । बाँकी सात खेलहरु बराबरीमा टुङ्गिएका छन् ।

प्लेयर्स टु वाच
पाउलिन्हो (ब्राजिल)

सोमबारको खेलमा मेक्सिकोका खेलाडीहरुको ध्यान ग्राबियल जेसस र फिलिप काउटिन्होलाई  रोक्नु हुनेछ तर पाउलिन्होलाई रोक्ने विषयमा भने मेक्सिकोले खासै ध्यान नदिनसक्छ । यस्तोमा रनिङ र क्षमतामा अब्बल मानिएका यी खेलाडी ब्राजिलको लागि महत्वपूर्ण बन्न सक्छन् । सर्वियासँगको खेलमा पनि उनले महत्वपूर्ण गोल गरेका थिए ।

जेभियर हर्नान्डेज (मेक्सिको)
वेस्ट ह्यामबाट व्यावसायिक फुटबल खेलिरहेका यी खेलाडी यो प्रतियोगिताको समुह चरणको खेलमा भने शान्त देखिएका छन् । उनले अहिलेसम्म केवल एक सटमात्र  पोस्टमा प्रहार गरेका छन् । यद्यपि उनले दक्षिण कोरियाविरुद्ध गोलको लागि निकै राम्रो मौका सिर्जना गरेका थिए । सोमबारको खेलमा उनलाई पेनाल्टी बक्सभन्दा बाहिरै रोक्ने ब्राजिलको रणनीति बन्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ