झापा। पाडाजुङी गौरिगन्ज सडक खण्डको गौरादह जिरो किमि नजिक सोमबार अपरान्ह साँढे ३ बजे पाडाजुङी तर्फबाट आउदै गरेको मे ४ प १४७४ को मोटर साइकललाई सोही दिशाबाट आएको ना ३ ख ८४७४ न को टिप्परले ठक्कर दिदा २ जना किशोरको घटनास्थलमै मृत्यु भएको छ।
टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार विवेक बराल र नेल्सन भण्डारी लडेका थिए। उनीहरु लडेकै ठाउँमा वालुवा बोकेर आएको टिप्पर पनि असन्तुलित भइ त्यसको ढाला खुस्किएको थियो।
मोटरसाइकलबाट पल्टेका बराल र भण्डारीलाइ ट्रिपरको ढालामा रहेको बालुवाले पुरेको थियो। बालुवा बोकेको टिप्पर अनियन्त्रित भएर पल्टिएपछि बालुवाले पुरिएका विवेक बराल र नेल्सन भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालुवाले पुरिएका दुबैजनाको शव आधा घण्टापछि निकालिएको थियो। तीनवटा जेसिभि ल्याएर बालुवाले पुरिएकाहरुलाइ झिक्दा उनिहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको हो ।
मोटरसाइकलमा तीनजना सवार रहेको प्रहरीले बताएको छ। मोटरसाइकल चलाउने प्रवेस भण्डारी भने घाइते भएका छन्। लड्दा टिप्पर भन्दा केहि टाढा उछिट्टिएका कारण उनी बाचेका थिए।
लडेका दुईले वालुवामा पुरिएर ज्यान गुमाए भने वालुवामा नपुरिएर उछिट्टिएका भण्डारी भने बाँच्न सफल भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ।
टिप्पर अधिक गतिमा रहेको तथा मोटरसाइकल चालकले पनि बाटो काट्ने क्रममा राम्रोसँग ध्यान नदिदा दुर्घटना भएको प्रहरीको भनाइ छ।