स्विडेन भर्सेस स्विट्जरल्याण्ड, जिते क्वाटरफाइनल हारे घर
प्रकाशित २०७५ असार १९ मंगलबार
340
Shares
काठमाडौं । विश्वकपमा मंगलबार अन्तिम १६ का खेलहरुमा स्विडेन र स्विट्जरल्याण्डको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपालीसमयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । समुह ईको उपविजेता र समुह एफको बीचमा मंगलबार रोचक प्रतिस्पर्धा हुन गइरहेको हो ।
समुह चरणमा दुई खेलमा जित र एक खेलमा हारको सामना गर्दै माथिल्लो चरणमा पुगेको स्विडेनले समुह चरणमा निकै राम्रो प्रदर्शन गरेको छ । जर्मनीसहितको समुहबाट यो टोली शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो । यो टोलीले समुह चरणको आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई पराजित गरेको टोलीले अन्तिम खेलमा मेक्सिकोलाई पराजित गरेको थियो । दोस्रो खेलमा भने जर्मनीसँग पराजित भएको थियो । समुह चरणमा स्विडेनले पराजित गरेका दुवै टोलीहरुले जर्मनीलाई पराजित गरेका थिए ।
यो टोलीले समुहका तीन खेलमा निकै सन्तुलित किसिमको खेल प्रस्तुत गरेको थियो । जसको कारण अन्तिम १६ को खेलमा पनि उसले निकै राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । स्विडेनले यसअघि छनोट चरणमा पनि निकै राम्रो प्रदर्शन गरेको थियो । स्विडेनले इटालीलाई पनि पाखा लागाएको थियो, जसको कारण इटाली विश्वकपमा सहभागी हुन सकेन । पछिल्लो समय टोली निकै राम्रो लयमा रहेको कारण उसलाई रोक्नु जुनसुकै टोलीका लागि समस्या बन्नसक्ने देखिन्छ ।
स्विट्जरल्याण्ड पनि कमजोर अवस्थामा भने छैन । समुह चरणको पहिलो खेलमा ब्राजिललाई बराबरीमा रोकेको यो मुलुकले सर्वियालाई भने पराजित गरेको थियो । कोस्टारिकासँग भने उसले बराबरीको नतिजा हासिल गरेको थियो । स्विट्जरल्याण्डले तीन खेलमा ५ गोल गरेको थियो तर उसले ४ गोल गरेको थियो । मंगलबारको खेलमा भने उसले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्ने देखिन्छ । त्यसो त स्विडेनले पनि ५ गोलमात्र गरेको छ तर उसले केवल दुई गोल खाएको छ । जसले मंगलबारको खेल रोमाञ्चक बन्न सक्छ ।
हेड टु हेड
इतिहास हेर्ने हो भने पनि मंगलबारको प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । यी दुई टोलीहरुको बीचमा अहिलेसम्म २७ पटक भेट भएको छ । जसमा दुवैले १०-१० खेल जितेका छन् भने सात खेल बराबरीमा सकिएको छ ।
प्लेयर्स टु वाच
एमिल फोर्सवर्ग (स्विडेन)
स्विडेनको लागि मंगलबारको खेलमा यी खेलाडीको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ । जाल्टन इब्राहिमोभिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्विडेनको टोलीमा यी खेलाडीको भूमिका महत्वपूर्ण बन्दै गएको हो । निकै क्षमतावान् यी खेलाडीले रुस विश्वकपको समुह चरणको खेलमा खासै प्रभाव जमाउन सकेका छैनन्, जसको कारण मंगलबारको खेल निकै महत्वपूर्ण हुनसक्छ ।
रिकार्डो रोड्रिगेज (स्विट्जरल्याण्ड)
स्विट्जरल्याण्डको टोलीमा फ्याबियन स्कार र स्टेफन लिकस्टिनर समुह चरणको खेलमा दुई पँहेलो कार्डको कारण मंगलबारको खेलमा अनुपस्थित हुनेछन् । उनीहरुको भूमिका पूरा गर्नका लागि रोकार्डो रोड्रिगेजको भूमिका निकै महत्वपूर्ण बन्न सक्छ । २५ वर्षीय यी खेलाडीले यसअघि नै ५६ खेल खेलिसकेका छन् ।