खतरामा डा. केसी : उपचारमा खटिएका डाक्टरले छोडे, प्रेसरसम्म पनि जाँच हुन सकेन
प्रकाशित २०७५ असार १९ मंगलबार
275
Shares
जुम्ला। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै सरकारविरुद्ध अनशनमा बसेका डा. गोविन्द केसीलाई उपचार गर्ने डाक्टरले समेत छोडिदिएका छन् ।
अहिले उनलाई हेर्ने चिकित्सक कोही छैनन् । डा. केसीलाई हेर्न भनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डा. प्रविण गरीले सोमबार साँझैबाट छोडिदिए । प्रहरी हिरासतमा अनसन सुरु गरेकै दिन डा. केसीलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा ल्याएर छोडिदिएको थियो ।
डा. केसीलाई किन छोड्या तपाईहरुले ? हाम्राकुरासँग डा. गिरीले भने, ‘हामीले छोड्नु भन्दा अघि नै अलिकति सुविधा भएको अस्पतालमा लगेर उपचार गराऔँ भनेका थियौँ । प्रशासनले सुनेन । त्यो हलमा रहेको धुलो र बाहिरबाट आउने दुर्गन्धका कारण मोनिटर गर्नै सकिँदैन । धुलो उडिरहेको ठाउँमा स्लाईन पनि दिन मिल्दैन । अनि हामी रमिते जस्तो मात्रै भयौँ । त्यसैले हामीले उहाँलाई हेर्ने जिम्मेवारीबाट राजीनामा दिएका हौँ ।’
डा.गिरीले अगाडि भने, ‘हामी सबैले हेर्न छोड्यौँ अहिले उहाँ प्रशासनको जिम्मामा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था खस्किँदै गएको छ । बाहिरबाट हेरेर के थाहा हुन्छ । राम्ररी जाँच पड्ताल गर्न त अस्पतालै लानु पर्छ। गाईगोठ जस्तो कवर्डहलमा कुनै जाँच गर्न सकिँदैन । एक मिनेटमा तलमाथि हुनसक्छ । त्यसको जिम्मा प्रशासनले नै लिने हो ।’
डा. केसीसँगै रहेका सहयोगी किशोर केसीले डा. केसीको स्वास्थ्य सोमबार भन्दा मंगलबार अझ खस्किएको बताए । उनले भने, ‘हिजोसम्म डाक्सावहरुले हेरिरहनु भएको थियो । तर, हिजो साँझ उहाँहरु जानुभएपछि रक्तचाप र पिसाबमा समस्या आएको छ । पिसाब निकै थोरै हुन थालेको छ । उहाँ आफैले भनेका भरमा रक्तचापमा समस्या आएको भनिरहेका छौँ । राम्ररी प्रेसरसम्म जाँच्न पाईएको छैन । सर एकदमै खतरामा हुनुहुन्छ ।’ यस्तो धुलोमा स्लाईन दिन पनि मिल्दैन ।
केसी कसको जिम्मामा हो अहिले ? उनले प्रशासनले हिरासतमै राखेको भनेका छन् । स्थानीयले समेत प्रशासनले जिम्मा लिनुपर्छ भनिरहेका छन् ।