काँग्रेसका शिर्ष नेताको बैठक देउवा निवासमा, विषय प्रवेश गराए पौडेलले
देउवाले आफैले फोन गरी बोलाएका थिए शिर्ष नेताको बैठक
प्रकाशित २०७५ असार १९ मंगलबार
698
Shares
काठमाडौं। संसदीय चुनावमा पार्टीले व्यहोरेको हारसँगै एक अर्काको बारेमा कटु टिप्पणी गर्दै आएका काँग्रेस नेताहरु एक ठाउँमा बसेर आगामी दिनमा पार्टीले लिने रणनीतिको बारेमा छलफलमा जुट्न थालेका छन्।
पार्टी सभापति शेर बहादुर देउवाले चुनाव सकिए यताको ७ महिना पछि केहि सुधारका संकेतहरु देखाउन थालेका छन्। केन्द्रीय समितिको वैठक जिल्ला सभापतिहरुको भेला बोलाएर चुनावी हारको समिक्षामा सहभागि भएका देउवाले पार्टीका शिर्ष नेताहरुसँग थप छलफलमा जुटेका छन्।
सभापति देउवाले मंगलवार आफ्नै निवास बुढानिलकण्ठमा एक वैठकको आयोजना गरे। पार्टीका शिर्ष नेताहरुलाई देउवाले वैठकमा आमन्त्रण गरेका थिए। करिव डेढ दर्जन नेताहरु वैठकमा सहभागि थिए।
देउवाले आफैले फोन गरि बोलाएका नेताहरु वैठकमा सहभागि हुन दिउँसो २ बजेदेखि नै देउवा निवासमा पुगेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, पदाधिकारीहरु उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्ण बहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव वैठकमा थिए।
काँग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छेदार, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय डा रामशरण महत र अर्जुननरसिंह केसी, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पनि वैठकमा थिए।
नेपाली काँग्रेसका नेताहरु महेश आचार्य, डा मिनेन्द्र रिजाल, वालकृष्ण खाँण, प्रवक्ता विश्वप्रकाश शर्मा सहितका नेताहरु वैठकमा थिए।
सभापति देउवाको नीजि निवासमा वैठक बोलाइए पनि वैठकको शुरुवात भने बरिष्ठ नेता पौडेलले गरेका थिए। पौडेलले भने, ' विषय प्रवेश नै मैले गराए। '
बैठकमा पार्टीको आन्तरिक सुधार, संगठन सुदृढीकरण, भातृ संगठनको सुधार, भातृ तथा शुभेच्छुक संस्थाको विधि सम्मत संचालन, संसदमा प्रतिपक्षी दलको रुपमा काँग्रेसको भुमिका, अनशनरत गंगामायाको बिषय, डा गोविन्द केसीले उठाएका मुद्धाहरुको सम्वोधन गराउन पार्टीले खेल्नुपर्ने भुमिका, निषेधित क्षेत्र तोकेको सरकारको निरंकुश चरित्र उदाङगो पार्ने, सभामुख र उपसभामुखको व्यवस्था संविधान अनुसार बनाउन पार्टीको भुमिकालाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको नेता पौडेलले बताए।
उनले एकतावद्ध भएर अघी बढ्ने बारेमा सबैको सहमति प्रकट भएको बताए।
काँग्रेस नेता अर्जुन नरसिंह केसीले विगतका कमिकमजोरी सुधारेर एकतावद्ध बनाएर जान सकिन्छ भन्नेमा वैठकमा सहभागि धेरैको धारणा आएको बताए। केसीले छलफल शुरु भएको तथा सौहार्दपूर्ण वातावरण बनेको जनाए।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका जिल्ला सभापतिहरुको हेटौंडामा सम्पन्न भेलाले दिएको सन्देश अनुसार नेताहरुमा रुपान्तरण देखिन थालेको बताए। नेताहरुले हार्दिकताका साथ छलफल शुरुवात गर्नुभएको छ। यसले पार्टीलाई फाइदा पुग्ने आँकलन आम कार्यकर्ताहरुले गर्मान थाल्नु सुखद शुरुवात भएको शर्माले बताए।
पार्टीको महासमितिको वैठकको मिति र स्थान तोक्ने विषय, विधान मस्यौदा समितिको गठन र प्रदेश समिति निर्वाचनको तयारीका बारेमा वैठकमा छलफल भएको शर्माले बताए।
यसअघी रामचन्द्र पौडेलसँग सोमबार पनि सभापति देउवाले छुट्टै भेटेका थिए। यसैबीच काँग्रेसले बुधवार विहान संसदीय दलको वैठक बोलाएको छ। विहान १० वजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा वैठक बोलाइएको हो।