- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाले अर्जेन्टिनाको टोलीलाई निःशुल्क प्रशिक्षण दिने प्रस्ताव गरेका छन् । रुस विश्वकपबाट यो टोली बाहिरिएसँगै म्याराडोनाले यस्तो प्रस्ताव गरेका हुन् ।
अर्जेन्टिनाको टोली विश्वकपको उपाधि हासिल गर्ने उद्देश्यका साथमा रसिया पुगेको थियो तर लियोनेल मेस्सीजस्ता खेलाडी भएको टोलीले आशा गरिएअनुसारको प्रदर्शन गर्न भने सकेन । यो विश्वकपमा लियोनेल मेस्सीमाथि निकै अपेक्षा गरिएको भए पनि उनले आफ्नो टोलीलाई विश्वकपको उपाधि दिलाउन भने सकेनन् ।
निकै ठुलो संघर्षका साथमा अर्जेन्टिना अन्तिम १६ मा पुगेको भए पनि फ्रान्ससँगको ४–३ गोलअन्तरको हारपछि भने प्रशिक्षक जर्ज साम्पाओलीको ठुलो आलोचना भएको थियो ।
यसअघि मेस्सीको साथमा नयाँ युगको सुरुवात हुने बताइएको भए पनि अब भने अर्जेन्टिनाको फुटबलको विषयमा गम्भीर प्रश्नचिन्ह खडा भएको छ । सन् १९८६ को विश्वकप जिताएका म्याराडोना अहिले विना कुनै तलब अर्जेन्टिनाको लागि प्रशिक्षकको भूमिका निर्वाह गर्न तयार रहेका हुन् ।
म्याराडोनाले सन् २०१०को विश्वकपमा अर्जेन्टिनाको टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । क्वार्टरफाइनलमा उनको टोली जर्मनीसँग ४–० को हारको सामना गर्दै बाहिरिएको थियो ।
यसअघि उनको विषयमा विभिन्न किसिमका कुराहरु आए पनि उनी अर्जेन्टिनाको पक्षमा उभिँदै आएका छन् । उनले मानिसहरुले आफूलाई निकै खुसी रहेको सोच्ने गरेका भए पनि आफ्नो मन गह्रौँ भएको बताए ।
आगामी वर्ष ब्राजिलमा कोपा अमेरिका कप आयोजना हुँदैछ । सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान बलियो राख्नका लागि आगामी वर्ष हुने प्रतियोगिताको उपाधि जित्नु अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण हुनेछ । (एजेन्सी)