कांग्रेस संसदीय दलले गोविन्द केसी र गंगामायालाई भेट्न टोली घोषणा गर्यो, को कता जाने ?
प्रकाशित २०७५ असार २० बुधबार
254
Shares
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसी र न्यायका लागि अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न सांसदको टोली घाेषणा गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधिसभाका सांसदद्वय प्रकाश स्नेही र रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
कांग्रेस सांसदको एक टोली जुम्ला जाने भएको छ । जुम्ला जाने सांसदको टोलीले डा. केसीको मागमा भेटेरै ऐक्यबद्धता जनाउने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गर्ने संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकले डा. केसीको माग अनुसार यसअघि सरकारले गरेको सम्झौताका आधारमा चिकित्सा विधेयक तयार पार्न भनेको छ ।
गंगामायालाई भेट्न जाने को–को ?
शहीद दिवसको दिनदेखि अनशनरत गोरखा फुजेलकी गंगामाया अधिकारीकोे स्वास्थ्य अवस्थाबारे बुझ्न प्रतिनिधिसभाका सांसद पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनालाई खटाउने निर्णय गरेको छ । यसअघि, काँग्रेसले डा. केसी र गंगामायाको विषयमा संस्थागत निर्णय गरेको थिएन । कांग्रेस नेताहरुले छुट्टा–छुट्टै भेट गरिरहेका थिए ।
१३ वर्षअघि भएकाे छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनी वीर अस्पतालमा आमरण अनशनमा छिन् । पहिले क्याविनमा रहेकी गंगामायालाई अहिले आइसीयुमा सारिएको छ ।
अन्य निर्णय
कांग्रेस संसदीय दलले ठाउँ–ठाउँमा निषेधाज्ञा जारी गरेकामा खारेजीको माग गरेको छ । यस्तै, पछिल्लो समय उपभोक्ताको ढाड सेकिने गरी भएको मूल्यवृद्धिको विरोध समेत काँग्रेसले संसदीय दलमार्फत गरेको हो । मूल्यवृद्धिबारे समेत काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।