सरकारको निर्णयले खैलाबैला : कांग्रेसले सोध्यो–प्रदेश सांसद र राष्ट्रिय सभा के हुने ?
प्रकाशित २०७५ असार २१ बिहिबार
437
Shares
काठमाडौं । वतर्मान सरकारको निर्णयले नेपाली राजनीतिमा खैलाबैला मच्चिएको छ । सरकारले भदौ १४ पछि अघिल्लो सरकारले गरेका सबै निर्णय बदर गर्ने निर्णय गरेसँगै नेपाली राजनीतिमा खैलाबैला मच्चिएको हो ।
कानुनमन्त्री शेरबहादुर तामाङले नै यसअघि देउवा सरकारले गरेका नियुक्ति सबै खारेज हुने र त्यसमा प्रदेश प्रमुखको नियुक्ति समेत पर्ने भनिदिएपछि प्रमुख विपक्षीले राष्ट्रियसभा पनि भंङग गर्ने हो, भनि प्रश्न गरेको छ ।
सरकारले पछिल्लो निर्णय गरेर राजनीतिक द्वन्द्व निम्त्याउन खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आरोप छ । कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रही निर्णय भनेको छ ।
वुधबार बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले यसमा आपत्ति जनाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले, ‘राजनीतिक सहमतिका आधारमा सबैलाई मिलाएर अघि बढ्नुको साटो दुई तिहाईको दम्भ देखाएर सरकारले राजनीतिक द्वन्द्व निम्त्याउन खोज्यो’ भनेका छन् ।
यसैबीच, देउवा सरकारको पालामा नियुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको पद धरापमा परेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकाले उनीहरुलाई पदमुक्त गर्न सरकारले फेरि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने कुरा कानुन मन्त्रीले बताएका छन् ।
कांग्रेसले भने प्रदेश प्रमुखको नियुक्ति बदर हुने भए सिंगो राष्ट्रियसभा र प्रधानमन्त्री र राष्ट्रपतिको पदमा समेत प्रश्न उठ्ने जिकिर गरेको छ ।
कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘प्रदेश प्रमुखहरु पदमुक्त हुने भए प्रदेश प्रमुखबाट सपथ खाएका प्रदेश सांसद अवैध हन्छन् । त्यति मात्र होईन तिनले भोट हालेका राष्ट्रियसभा सदस्यहरु पनि अवैध ठहरिन्छन् । प्रधानमन्त्री पनि त अवैध भए नि !’