arrow

पहिलो क्वार्टरफाइनल भिडन्तः बेलुकी उरुग्वे भर्सेस फ्रान्स, यस्तो छ अवस्था 

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
France-vs-Uruguay.png

काठमाडौं । विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनलको खेलमा शुक्रबार फ्रान्स र उरुग्वे भिड्दैछन्  । उपाधि दाबेदार मानिएका यी दुई टोलीहरुको बीचमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे प्रतिस्पर्धा हुन गइरहेको हो । 

दुईपटकको विश्वकप विजेता उरुग्वे र एकपटकको विश्वकप विजेता फ्रान्सबीचको यो प्रतिस्पर्धा निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ । 

उरुग्वेले यो विश्वकपमा निकै राम्रो पदर्शन गरेको छ । समुह ए को यो टोलीले समुह चरणको तीन खेलमा स्पष्ट जित हासिल गरेको थियो । समुह चरणका सबै खेलहरुमा उरुग्वेले एकैनासको प्रदर्शन गरेको थियो भने अन्तिम १६ को खेलमा पनि उसले बलियो मानिएको पोर्चुगललाई पाखा लगाएको थियो । 

यो विश्वकपको समुह चरणका खेलहरुमा निकै नाटकीय शैलीका नतिजाहरु हासिल भइरहेको अवस्थामा उरुग्वेले भने आफ्नो एकैनासको प्रदर्शन जारी राखेको हो । 

त्यतिमात्र होइन यो टोलीले आफ्नो समुह चरणका तीन खेलमा एक गोल पनि खाएको थिएन । यद्यपि अन्तिम १६ को खेलमा भने उसले पोर्चुगलसँग एक गोल खाएको थियो । 

यस विश्वकपको सुरुवाती खेलहरुमा गरेको प्रदर्शनको कारण शुक्रबारको खेलमा दक्षिण अमेरिकी टोली बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ । 

समुह सीको विजेताको हैसियतमा अन्तिम १६ मा पुगेको फ्रान्सको टोली युवा खेलाडीहरुले भरिएको छ । यो टोली कुनै पनि टोलीलाई हराउने सामथ्र्य भएको टोली हो । समुहचरणमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो । 

समुह चरणका तीन खेलमा फ्रान्सले दुई टोलीलाई हराएको थियो भने अन्तिम खेलमा बराबरीको नतिजा हासिल गरेको थियो । यस्तोमा सात अंकका साथमा फ्रान्सले अन्तिम चरणमा स्थान बनाएको थियो । अन्तिम १६ को खेलमा उसले अर्जेन्टिनाजस्तो बलियो प्रतिद्वन्द्वीलाई पाखा लगाएको थियो । 

फ्रान्सले समुह चरणमा आफ्नो सन्तुलित खेल प्रस्तुत गरेको थियो । ठुला भनिएका टोलीहरुको प्रदर्शन कमजोर रहेको अवस्थामा फ्रान्सले पनि समुहका कुनै पनि खेल हारेन । अन्तिम १६ को खेलमा फ्रान्स उच्चस्तरीय प्रदर्शन गरेको थियो । 

लाइन अप 
शुक्रबारको खेलमा उरुग्वेले यसअघिको जस्तै खेल पस्किनसक्छ । उसले अग्रपंक्तिमा आफ्ना दुई खेलाडीहरु राख्दै मिडफिल्डमा चार जना खेलाडीहरु राख्नसक्छ भने रक्षापंक्तिमा समान चार खेलाडी राख्ने उसको रणनीति हुनसक्छ । जसअनुसार उसले ४–४–२ को संरचनामा आफ्ना खेलाडीहरु मैदानमा उतार्न सक्छ । 

फ्रान्सको खेल यो विश्वकपमा केही आक्रामक देखिएको छ । अन्तिम १६ को खेलमा उसले निकै आक्रामक किसिमको खेल प्रस्तुत गरेको थियो । सोहीअनुसार शुक्रबारको खेलमा उसले अग्रपंक्तिमा एक खेलाडी राख्दै बाँकी दुई दुई खेलाडीहरु अग्रपंक्तिभन्दा केही तल राखी आक्रामक मिडफिल्ड उतार्नसक्ने देखिन्छ भने मिडफिल्डमा तीन जना रहँदा चारजनाले रक्षापंक्तिको भूमिका निर्वाह गर्नसक्छन् । जसअनुसार उसले ४–३–२–१ को संरचनामा खेल खेलाउन सक्छ । 

हेड टु हेड 
अहिलेसम्म फ्रान्स उरुग्वेको बीचमा आठपटक प्रतिस्पर्धा भएको छ । जसमा उरुग्वेले तीन पटक जित हासिल गरेको छ भने फ्रान्स एकपटक विजयी भएको छ । बाँकी चार खेलहरु बराबरीमा सकिएका छन् । अहिलेसम्म विश्वकपमा भने फ्रान्सले उरुग्वेलाई हराउन सकेको छैन । सन् १९६६ को विश्वकपमा उरुग्वेले फ्रान्सलाई २–१ ले हराएको थियो भने सन् २००२ र २०१० मा भएको भेटमा ०–० को बराबरीको नतिजा हासिल भएको थियो । 

प्लेयर्स टु वाच 
लुइस स्वारेज (उरुग्वे)

शुक्रबारको खेलमा उरुग्वेका लुइस स्वारेजको भूमिका निकै महत्वपूर्ण बन्न सक्छ । समुहचरण देखि नै उनले निकै राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । अन्तिम १६ को खेलमा पनि उनले गोलको लागि सहयोगीको भूमिका निर्वाह गरेका थिए । शुक्रबारको खेलमा पनि उनको प्रदर्शन राम्रो रहने अनुमान गरिएको छ । 

एन्टोनि ग्रिजम्यान (फ्रान्स) 
एन्टोनि ग्रिजम्यान शुक्रबार आफ्ना निकै नजिकका साथीको विरुद्धमा मैदानमा उत्रिनेछन् । उरुग्वेका रक्षापंक्तिका खेलाडी डिएगो गडइनसँग निकै नजिकको सम्बन्ध रहेको छ । अन्तिम १६ को खेलमा एक महत्वपूर्ण गोल गरेका यी खेलाडीको भूमिका शुक्रबारको खेलमा पनि महत्वपूर्ण बन्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ