- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलको खेलमा ब्राजिल र बेल्जियमको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।
छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलले यो विश्वकपमा निमै राम्रो प्रदर्शन गरिरहेको छ । समुह चरणका तीन खेलमा दुईमा जित र एकमा बराबरीको नतिजा हासिल गरेको टोलीले अन्तिम १६ को खेलमा भने मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यो टोलीका सबै खेलाडीहरु उत्कृष्ट लयमा रहेका छन् । पहिलो खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको टोलीले समुहचरणको बाँकी खेलमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आफ्नो प्रदर्शनमा सुधारको लागि ब्राजिलले तयारी पनि तीव्र पारेको छ ।
इतिहास र अहिलेको टोलीको लय हेर्ने हो भने शुक्रबारको खेल ब्राजिलको लागि सहज हुनेछ तर टोलीका मुख्य खेलाडी नेयमारमाथि भइरहेको अत्यधिक मार्किङ र अन्य खेलाडीहरुको प्रदर्शन आशा गरिएअनुसारको नरहेको अवस्था भने यो टोलीका लागि एक समस्या बन्न सक्छ ।
ब्राजिलका फुटबल अधिकारीहरुले आफूहरुको सबै खेलाडीहरु आफ्नो भूमिका राम्रोसँग निभाउन सक्षम रहेको कारण आफ्नो टोली कुनै पनि टोली हराउनको लागि सक्षम रहेको बताएका छन् ।
समुह जीको विजेता टोली बेल्जियमले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको छ । आफ्नै तीनै खेलमा जित हासिल गर्दै अन्तिम १६ मा पुगेको टोलीले जापानसँग भने कठिन जित हासिल गरेको थियो । यद्यपि जापानसँगको खेलमा २–० को नतिजालाई उट्याउँदै जित हासिल गर्नुले भने बेल्जियम जुनसुकै अवस्थामा खेलमा फर्किनसक्छ भन्ने सन्देश भने दिएको छ ।
साथै यो टोलीमा कुनै पनि प्रतिस्पर्धीलाई हराउनसक्ने क्षमता भएका खेलाडीहरु पनि रहेका छन् । यो टोली गोल गर्ने मामिलामा पनि अगाडि देखिएको छ । समुहचरणका सबै खेल जित्ने टोलीमध्येको एक रहेको बेल्जियम यसपटकको लागि उपाधिको एक दाबेदार मुलुक हो । बेल्जियमको टोली सन्तुलित अवस्थामा रहेको कारण यो टोलीले यो विश्वकप आफ्नो पोल्टामा पार्नसक्ने केहीको भनाइ छ ।
लाइन अप
शुक्रबारको खेलमा ब्राजिलले आफ्नो तर्फबाट आक्रामक किसिमको टोली मैदानमा उतार्न सक्छ । अग्रपंक्ति र मिडफिल्डमा निकै राम्रो खेलाडीहरु उसको टोलीमा रहेको अवस्थामा उसले त्यसको भरपूर फाइदा उठाउन सक्छ । त्यसका लागि उसले अग्रपंक्तिमा एक तथा मिडफिल्डमा चार खेलाडीहरु उतार्न सक्छ । साथै साथै मिडफिल्डभन्दा केही तल एक खेलाडी राखी विपक्षीलाई रोक्ने तथा रक्षापंक्तिमा चार खेलाडीहरु राख्ने रणनीति ब्राजिलको बन्नसक्छ । जसअनुसार ब्राजिल ४–१–४–१ को संरचनामा मैदानमा उत्रिने सम्भावना रहेको छ ।
बेल्जियमले शुक्रबारको खेलमा ब्राजिलको भन्दा केही मात्र फरक किसिमको टोली उतार्न सक्छ । ब्राजिलसँगको खेलमा मिडफिल्ड तथा अग्रपंक्तिमा पाँच खेलाडीहरु रहनसक्छन् भने रक्षापंक्तिमा पाँचजनासम्म खेलाडीहरु रहनसक्छन् । जसअनुसार शुक्रबारको खेलमा बेल्जियमले ३–२–४–१ को संरचनामा खेलाडीहरु उतार्नसक्छ ।
हेड टु हेड
अहिलेसम्म यी दुई टोलीको बीचमा चारपटक भेट भएको छ । जसमा तीन खेलमा ब्राजिलले जित हासिल गरेको छ भने एक खेलमा बेल्जियम विजयी भएको छ । विश्वकपमा भने उनीहरुको एकपटक मात्र भेट भएको छ । सन् २००२ मा विश्वकपमा भएको भेटमा ब्राजिलले जित हासिल गरेको थियो । त्यसयता भने उनीहरुको बीचमा कुनै प्रतिस्पर्धा भएको छैन ।
प्लेयर्स टु वाच
रोमेलु लुकाकु (बेल्जियम)
सोमबारको खेलमा यी खेलाडीको भूमिका बेल्जियमको लागि निकै महत्वपूर्ण हुनेछ । बेल्जियमका यी खेलाडीले यो विश्वकपमा चार गोल गरिसकेका छन् । उनलाई जापानसँगको खेलमा थप गोल गर्दै आफ्नो विश्वकपको गोलसंख्या पनि बढाउने मौका हुनेछ । उनी यो विश्वकपमा गोल्डेन बुट पाउने खेलाडी पनि बन्न सक्छन् । उनीभन्दा माथि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंगल्याण्डका ह्यारी केन छन् । उनले पाँच गोल गरेका छन् ।
नेयमार (ब्राजिल)
ब्राजिलको टोलीमा शुक्रबारको खेलमा नेयमारको भूमिका निकै महत्वपूर्ण बन्नसक्छ । ब्राजिलको लागि एक्लै खेल जिताउनसक्ने क्षमता भएका यी खेलाडीले चमत्कार देखाउन सकेको खण्डमा भने ब्राजिललाई जित हासिल गर्नु कुनै नौलो कुरा भने होइन । गोल गर्नमा कुनै समस्या नरहेको टोलीमा अन्य खेलाडीहरु पनि निकै राम्रो लयमा रहेको फाइदा उनलाई पनि मिल्न सक्छ ।