काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सभा सदस्य मुक्ताकुमारी यादवका छोरा लोकेशकुमार यादवको मृत्युसम्बन्धी घटनाको छानबिनका लागि माग गरे।
गत चैत २ गते साँझ धनुषास्थित गणेशमान नगरपालिका, पोताहा चोकमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको भनिए पनि यादवको दुर्घटनाबाट नभई हत्या नै भएको दाबी गर्दै सत्यतथ्य पत्ता लगाउन केन्द्रीयस्तरबाटै छानबिन होस् भनी सांसद पाण्डेले माग गरे।
राष्ट्रिय सभाको शुक्रवारको बैठकको प्रारम्भ हुनासाथ समय माग गर्दै सांसद पाण्डेले सो माग गरेका हुन् । दुर्घटना भएको भनिएको स्थलभन्दा २० मिटर वर नै हात काटेर फालिएको, लासभन्दा धेरै पर मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको, लासको टाउकामा धारिलो हतियार प्रयोग भएको तर शरीरका अन्य भागमा भने कुनै क्षति नभएकाले पनि यो दुर्घटना नभई हत्या नै भएको भनी उनले दाबी गरे ।
यादवको हत्या भएको केही दिनपछि उनको धनुषास्थित घरमा स्वतन्त्र तराई मधेश निर्माण सेना नामक समूहले फ्याँकेको पर्चामा ‘तिमीहरु नेपाली काँग्रेसका तर्फबाट राजनीति गरिरहेका छौँ, त्यसैको चेतावनीस्वरुप छोरालाई हत्या गरिएको हो’ भन्ने कुरा लेखिएको सांसद पाण्डेले सभालाई जानकारी दिए ।
आफ्नो छोराको हत्या नै भएको भन्दै यस विषयमा सत्यतथ्य छानबिनका लागि स्वयं गृहमन्त्रीलाई समेत सांसद यादवले आग्रह गरिएकामा हालसम्म कुनै कारबाही अगाडि नबढेको गुनासो गर्दै उनले यस विषयमा आफ्नो पार्टीको संसदीय दलमा समेत गम्भीर छलफल भई केन्द्रीय स्तरबाट छानबिन गरी दोषीउपर कडा कारबाही होस् भनी सरकारको ध्यानाकर्षण गराए ।
सांसद मुक्ताकुमारी यादवले आफ्नो छोराको हत्याबारे पुनः छानबिनका लागि निवेदन दिएपछि अहिले भारतीय फोनबाट सांसद यादवको मोबाइलमा बारम्बार धम्की दिएर फोनहरु आउने गरेको पनि उनले सदनमा जानकारी गराए ।