arrow

घरेलु भूमिमा इतिहास रच्दै रुस

logo
प्रकाशित २०७५ असार २३ शनिबार
russia-croatia.png

काठमाडौं । शनिबार विश्वकपमा क्वार्टरफाइनलमा क्रोएसिया र रुस आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । घरेलु टोली रुस र पछिल्लो समय राम्रो लयमा रहेको क्रोएसियाको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा हुन गइरहेको हो ।

घरेलु टोली रुस शनिबारको खेलमा बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ । समुह एको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको टोलीले उपाधिको दाबेदार मानिएको स्पेनलाई टाइब्रेकरमा पाखा लगाएको थियो । यसले पनि रसियाको टोलीमा आत्मविश्वास बलियो भएको हो ।

समुह चरणका दुई खेलमा सहज जित हासिल गरेको टोलीले उरुग्वेसँगको खेलमा भने पराजयको सामना गरेको थियो । यद्यपि उसले समुह बीको विजेता टोलीको चुनौती पार गरेको हो । जसको कारण क्वार्टरफाइनलमा क्रोएसियासँग खेल्दा रुसको मनोबल उच्च रहनेछ । आवश्यक परेको समयमा आक्रामक र रक्षात्मक दुवै किसिमको खेल पस्किनसक्ने क्षमता भएको कारण रुसको टोली राम्रो लयमा देखिएको हो ।

क्रोएसियाले पनि यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । समुह चरणको सबै खेलहरुमा स्पष्ट जितको नतिजा हासिल गरेको यो टोलीले अन्तिम १६ को खेलमा पनि डेनमार्कलाई पाखा लगाएको थियो । समुह चरणमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई हराउँदै आफूलाई अब्बल साबित गरेको यो टोलीमा केही राम्रा खेलाडीहरु रहेका छन् । समुह चरणको प्रदर्शनलाई जारी राख्ने हो भने क्रोएसियाले रुसलाई दबाबमा राख्नसक्छ तर क्वार्टरफाइनलको खेल हेर्ने हो भने यो खेल दुवै टोलीका लागि बराबरीको मौका बन्नसक्ने देखिन्छ ।
क्वार्टरफाइनलमा यी दुवै टोलीले टाइब्रेकरमा विपक्षीलाई पाखा लगाएका हुन् । जसले पनि शनिबारको खेल थप रोमाञ्चक हुनसक्ने देखिएको हो ।

लाइन अप
रसियाले शनिबारको खेलमा रक्षात्मक शैली अपनाउनसक्ने देखिन्छ । अन्तिम १६ को खेलमा स्पेनलाई रक्षात्मक शैलीबाट पराजित गरेको कारण पनि शनिबारको खेलमा उसको यस्तो रणनीति आउनसक्ने देखिन्छ । उसले शनिबारको खेलमा पाँच रक्षापंक्तिका खेलाडीहरुलाई मैदानमा उतार्नसक्छ भने चार खेलाडीहरुले मिडफिल्डको जिम्मा लिनसक्छन् । अग्रपंक्तिमा भने उसका एक खेलाडीले मात्र खेल्नसक्छन् । जसअनुसार रसियाले ५–४–१ को संरचनामा शनिबारको खेल खेलाउन सक्छ ।

क्रोएसियाले पनि शनिबारको खेलमा रक्षात्मक टोली मैदानमा उतार्नसक्छ । यद्यपि उसको टोली रसियाको तुलनामा भने केही आक्रामक किसिमको हुनेछ । क्रोएसिया शनिबार ४–२–३–१ को संरचनामा मैदानमा उत्रिने सम्भावना रहेको छ ।

हेड टु हेड
अहिलेसम्म रुस र क्रोएसियाको बीचमा तीनपटक प्रतिस्पर्धा भएको छ । जसमा क्रोएसियाले एकपटक जित हासिल गरेको छ भने दुई खेलहरु बराबरीमा सकिएका छन् ।

प्लेयर्स टु वाच
इगोर एकिन्फीभ (रुस)

स्पेनसँगको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर इगोर एकिन्फीभ शनिबारको खेलमा पनि महत्वपूर्ण खेलाडी बन्न सक्छन् । उनले स्पेनसँगको एक सय २० मिनेटमा केही उत्कृष्ट बचाउहरु गरेका थिए । साथै उनले दुई पेनाल्टि पनि रोकेका थिए । ३२ वर्षीय यी खेलाडीको भूमिका निकै महत्वपूर्ण हुनसक्छ ।

मारिओ मान्डुज्किक (क्रोएसिया)
शनिबारको खेलमा क्रोएसियालाई निकै कम मात्र मौका मिल्नेछ । त्यसैले क्रोएसियाको टोली फरवार्ड मारिओ मान्डुज्किकमा धेरै हदसम्म निर्भर हुनेछ । यो विश्वकपमा पनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । शनिबारको खेलमा पनि रुसको रक्षापंक्तिका लागि यी खेलाडी टाउको दुखाइको विषय बन्नसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ