कांग्रेस नेता पौडेलले सुरु गरे स्वतन्त्रता सेनानी सम्मान अभियान
प्यूठानमा ६५ जना स्वतन्त्रता सेनानी सम्मानित
सिटी पोख्रेल,
प्रकाशित २०७५ असार २३ शनिबार
732
Shares
प्यूठान। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघ पुर्व अध्यक्ष प्रदिप पौडेलले मुलुकमा अधिनायकबादको डर रहेको बताएका छन् । शनिबार प्यूठानको मरन्ठानाबाट देशब्यापी रुपमा स्वतन्त्रता सेनानी अभियानको उदघाटन गर्दै नेता पौडेलले कांग्रेसका हजारौँ स्वतन्त्रता सेनानीहरुले संघर्ष गरेर आएको लोकतन्त्रमाथि खतरा रहेको बताएका हुन् ।
बर्तमान कम्यूनिष्ट सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि सत्याग्रहसुरु गरेका गोविन्द केसी र अदालतको आदेश कायान्वयको माग गर्दै आएकी गंगामाया जस्तालाई त अधिनायकवादी देखाउन सुरु गरेको भन्दै पौडेलले भने , 'तपाई हाम्रो अबस्था कस्तो होला । कांग्रेसले संघर्ष गरेर आएको संघिय लोकतान्त्रीक गणतन्त्र संगै लोकतन्त्र पनि धरापमा परेको छ ।'
सरकारको पछिल्ला कदमबारे तिब्र बिरोध गर्दै आएका नेता पौडेलले केपी ओली नेतृत्वको बर्तमान सरकारले सरकारी तथा नागरिक संयन्त्रहरु कमजोर बनाई व्यक्ती शक्तिशालि बन्ने कुप्रयास गरेको आरोप समेत लगाए । देशभरमा रहेका कांग्रेस स्वतन्त्रता सेनानीहरुको संघर्ष र बलिदानमा मुलुक यहाँसम्म आएको भन्दै नेता पौडेलले फेरी पनि पुरानै परिस्थिती आए कांग्रेसले त्यसको प्रतिकार गर्ने बताए ।
फरक प्रसंगमा नेता पौडेलले कांग्रेस ईतिहासकै कमजोर अबस्थामा पुगेको भन्दा अब युवाहरुले नेतृत्व गर्ने समय आएको बताए । वर्तमान अधिनायकवादका बिरुद्धमा अब कांग्रेसका युवाहरु एकहुने समेत पौडेलले बताए। स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनमा बसेका डा. गोविन्द केसी र अदालतको आदेश कार्यान्वयको माग गर्दै अनशनमा बसेकी गंगामाया जस्तालाई यो सरकारले न्याय नदिने भन्दै पौडेलले मुलुकमा साच्चिकै अधिनायकवाद सुरु हुन थालेको टिप्पणी गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा.गोविन्दराज पोख्रेलले मुलुक आर्थिक रुपमा ध्वस्त हुन थालेको भन्दै त्यसको सबै जिम्मेवारी बर्तमान सरकारले लिनुपर्ने बताए । बर्तमान सरकारले देशभरमा संञ्चालनमा रहेका बिकास निर्माणका कार्यक्रमहरु अबरुद्ध पार्न सुरु गरेको भन्दै डा. पोख्रेलले कांग्रेसले जम्मा गरेको राष्ट्रिय ढुकुटी संञ्चालन गर्न पल्केका कम्यूनिष्टहरुको अहिले हविगत देखिएको समेत टिप्पणी गरे। “भालुवाङ–प्यूठान–ढोरपाटन सडक योजना कहाँ पुग्यो ?, स्वर्गद्वारी नगरपालिका भिंगृमा सिंचाईका लागि सोलार सिस्टमको काम किन गर्न दिइएन ?” जिल्लामा अबरुद्ध भएका बिकास निर्माणको कारक को हो भन्दै डा. पोख्रेलले बिकास बिरोधि काम गर्ने सबैलाई जनताले ठिक गर्ने चेतावनी दिए।
हाल कार्यान्वयनमा गएको भालुवाङ–प्यूठान–ढोरपाटन सडक बर्तमान सरकार आएपछि काममा रोक गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिका भिंगृमा सिंचाईका लागि सोलार सिस्टमको काम नगरपालिकाले रोक गरेको छ ।
शनिबारबाट सुरु भएको स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा प्यूठानका स्वर्गीय तथा जीवित गरि ६५ जना स्वतन्त्रता सेनानीहरु सम्मानित भएका छन्। स्वर्गिय भएका सेनानीहरुको धर्मपत्नि तथा आफ्न्तले सम्मान लिएका छन भने जीवित २३ जनालाई स्वतन्त्रता सेनानी सम्मान अभियानका केन्द्रीय संयोजक प्रदिप पौडेलले सम्मान गरेका छन् । २००७ साल देखि निरन्तर रुपमा विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भुमिका खेलेका स्वतन्त्रता सेनानीहरुको देशभरमा सम्मान कार्यक्रम राख्दै अभिलेख तयार पारिने लोकतन्त्रबादी प्राध्यापक संघका केन्द्रीय सचिव डा. बिष्णु पोख्रेलले बताए ।
देशभरमा कांग्रेसमा तथा देशका लागि योगदान दिएका ब्यक्ति तथा स्वतन्त्रता सेनानीहरुको ईतिहास तयार गर्नका लागि केन्द्रबाट युवा नेता प्रदिप पौडेलले अभियान सुरु गरेका हुन् ।