उपकुलपति कोइराला प्रधानमन्त्री निवासभित्रै बने बन्दी, प्रधानमन्त्रीको ठाडो निर्देशनमा बनाइयो बन्दी
सुशान्त आचार्य,
प्रकाशित २०७५ असार २३ शनिबार
353
Shares
काठमाडौं। सत्रौं विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाँदै गरेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई सरकारले विमानस्थलबाटै समातेर फिर्ता गरि प्रधानमन्त्री निवास वालुवाटारमा बन्दी बनाएको छ।
पूर्व निर्धारित संस्कृत सम्मेलन समापन समारोहमा सम्बोधनसमेत गर्ने तयारीसहित जाँदै गरेका कोइरालालाई १० जना प्रहरीको टोलीले विमानस्थलबाट नियन्त्रणमा लिइ प्रधानमन्त्री निवास बालुवाटारमा एक घन्टा बन्दी बनाइएको हो।
प्रधानमन्त्री निवासभित्रै बन्दी बनाइएका कोइरालाले भने, ' क्यानडा जाने प्लेन छुटाइदिएपछि एक घन्टा राखेर चिया खुवाएर फिर्ता गरे। '
कोइराला तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए।
विश्वविद्यालयको कानुनी प्रकृया पूरा गरेर नेपालको प्रतिनिधित्व गर्न जाँदै गरेको बताउने कोइरालाले आफूलाई अपराधी झै विमानस्थलबाट समातेर ल्याएको बारेमा अनविज्ञता जनाउँदै किन त्यसको कारण भने नबुझेको बताए।
उनले सहकुलपति अर्थात शिक्षा मन्त्रीमार्फत् कुलपति अर्थात प्रधानमन्त्री समक्ष संस्कृत सम्मेलनमा सहभागी हुन जाने विदा स्वीकृतिका लागि पत्र पठाएको दावी गरे। सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन गर्ने तयारीसहित जाँदै गरेका उनले प्रधानमन्त्रीले किन समात्न लगाए भन्नेमा आफू आश्चर्यमा परेको बताए।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व सहित २०२४ मा यही विश्व सम्मेलन गर्ने निर्णय भएको थियो। त्यसका लागि ३५ लाख रुपैयाँ बजेट स्वीकृत पनि गरिएको थियो। नयाँ सरकार बनेसँगै भ्रमणको बजेट घटाएर १० लाखमा सीमित गरिएको थियो।
अर्थमन्त्री युवराज खतिवडाले समेत असहिष्णु राजनीतिक व्यवहार देखाएको कोइरालाको गुनासो थियो।
बालुवाटारमा कोइरालालाई गाडी राख्ने नजिकैको कोठामा एक घन्टा राखेर फिर्ता गरिएको थियो।कोइरालाको सामान भने प्रहरीले उनका सहयोगीलाई बुझाएका थिए।