गंगामायाका छोरा कृष्णप्रसादको हत्या आरोपी छविलाल जेल चलान
आफै अाए अदालत
प्रकाशित २०७५ असार २४ आइतबार
231
Shares
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेल पुर्पक्षका जेल चलान भएका छन् ।आइतबार अपराह्न आफै सर्वोच्च अदालतमा अात्म समर्पण गर्न पुगेका पौडेललाई सदरखोर डिल्लीबजार चलान गरिएको हो ।
कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।
छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ ।
गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।
२०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए ।