गंगामायाको अनसन तोडाउन मानव अधिकारकर्मीको शरणमा सरकार
मानवअधिकारकर्मी भन्छन्–उहाँले मानिरहनु भएको छैन
यमुना भण्डारी,
प्रकाशित २०७५ असार २५ सोमबार
381
Shares
काठमाडौं । सरकार वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोडाउने प्रयासमा लागेको छ । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य आरोपी छविलाल पौडेल पुर्पक्षका लागि जेल चलान भएसँगै सरकार उनको अनसन तोडाउने प्रयासमा लागेको हो ।
अनसन तोडाउने भन्ने हल्ला वीर अस्पतालको आइसीयुसम्म पुगिसकेछ । बाहिर उनलाई कुर्न बसेकाहरुले समेत थाहा पाएछन् । त्यसैले कसैलाई भेट्न दिईएको छैन । कडाई गर्नु भनिएकोछ, बाहिर बसेका कुरुवाले भने । गंगामायालाई पुरानो आईसीयुमा राखिएको छ । वीरमा नयाँ र पुरानो गरी दुई वटा आईसीयु छन् । गंगामायाको अनसन तोडाउन त्यति सजिलो भने छैन । सरकारले मानव अधिकारकर्मीहरुमार्फत गंगामायालाई अनसन तोडाउने प्रयास गरिरहेको छ ।
मानवअधिकारकर्मी सुवोधराज प्याकुरेलले भने, ‘हामी अस्पतालमा होईन । बाहिरै छलफल गरिराखेका छौँ । उहाँलाई अनसन तोडेर सामाजिक जीवनमा फर्किन अनुरोध गरिरहेका छौँ । गंगामाया मान्नुहुन्छ जस्तो लाग्दैन । अनसन तोडाउने भनेरै हामी छलफलमा भने जुटेका छौँ ।’ अहिले नै हुन्छ, तत्कालै अनसन तोडाइन्छ भन्न सकिँदैन, उहाँलाई मनाउन निकै कठिन छ, हामीले धेरै कर गर्न पनि मिल्दैन । उहाँको जीवन रक्षाको लागि नगरी पनि भएको छैन ।
मानवअधिकारकर्मीहरुसँगै कानुनमन्त्रालयका सचिव पनि छलफलमा छन् । कानुनमन्त्रीका एक सहयोगीले भने, ‘अनसन तोडाउने भनेर छलफल भईरहेको छ । गंगामायालाई मानवअधिकारकर्मीहरुले अनुरोध गरिरनु भएको छ । उहाँ सामाजिक जीवनमा फर्किनु पर्छ भन्ने ढंगले कुरा भईरहेको छ ।’ अनसन तोडाउन मन्त्री जानुहुन्छ त ? जवाफमा उनले भने, ‘मन्त्रीनै भनेर भनिएको छैन । सरकारको एक जना प्रतिनिधि जाने कुरा छ । कानुन सचिव पनि जान सक्नु हुन्छ ।’ महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले पनि अनसन तोडाउने प्रयास भईरहेको बताए ।
उनले हाम्राकुरासँग भने, ‘हामीले क–कसलाई के भन्नु हुन्छ । भनिसकेका छौँ । सरकारले प्रयास गर्दै छ । छविलाल पुर्पक्षका लागि जेल चलान भएका छन् । यो सर्वोच्चको आदेशको पालना हो । गंगामायाले सर्वोच्चको आदेश पालनमा भएको कुराको अवज्ञा त गर्नु हुन्न होला नि ! सम्भवतः उहाँले मान्नु हुन्छ ।’
गंगामाया अधिकारीले भने छविलाल मात्रै जेल चलान भएर नहुने र हत्यामा संलग्न सबै पक्राउ परेपछि मात्रै अनसन तोड्ने अडान लिएकी छन् । गोरखा फुजेलकै ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबारै डिल्लीबजार सदरखोर जेल पठाइएको छ ।
महान्यायाधिवक्ता खरेलले अभियुक्त कारागार चलान भइसकेकाले यसमा कसैले केही भन्दैमा नहुने र अदालतको फैसला नै अन्तिम हुने बताएका छन् । उनले भने, ‘जेल गईसकेपछि उनी कोही कसैका हुँदैनन् । कारबाही गर्न बन्देज छैन ।’
छविलाललाई परिवार र तत्कालीन माओवादी नेताहरुले कुरा गरेर अदालतमा आत्मसमर्पण गर्न लगाएका बुझिएको छ ।
१०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । गंगामाया छोराका हत्यारालाई कारवाहीको माग गर्दै पटक–पटक अनसन बस्दै आएकी छन् । कृष्णप्रसादका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिलेपनि शिक्षण अस्पतालमै छ ।