चितवन । लगातारको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु भएको छ । पहिरो हटाउने काम सकिएकोले सडकखण्ड अहिलेको समयमा सुचारू भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२९ घुमाउनेमा बिहान ५ बजे ठूलो पहिरो खसेको थियो । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको थियो । सोही समयपछि बाटो सुचारु भएको हो ।
त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका थिए । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो मंगलबार बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसँगै ठाउँठाउँमा पहिरो खसेका हुन् ।