काठमाडौं । सरकारले गरेको निर्णयहरु स्वतन्त्रता विरोधी भएको र स्वेच्छाचारी गतिविधिहरुमा सरकार अघि बढिरहेको भन्दै प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि धर्ना दिन पुगेका २५ जना मानव अधिकारकर्मी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको उक्त धर्नाबाट प्रहरीले २५ जनालाई पक्राउ गरेको हो ।
मंगलबार दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीहरु पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
उनीहरु पक्राउ परेसँगै मानव अधिकार तथा शान्ति समाजले एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित गरेको गरेको आरोप लगाएको छ ।
साथै सरकारले न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।