सबैभन्दा फोहोरी नेपालको प्रहरी ! (फोटोसहित)

यमुना भण्डारी, प्रकाशित मिति : २०७५ असार २७ बुधबार
तस्वीर : यमुना ।

काठमाडौं । राजधानी भनिन्छ काठमाडौंलाई । त्यतिमात्रै होईन अब त केही समयपछि स्मार्ट सिटी भन्नुपर्ला। अनि स्मार्टसिटी हुन के–के आधार चाहिने हो, त्यो स्थानीय सरकार अथवा महानगरलाई थाहा होला । 

मुलुक संघीय संरचनाको व्यवहारिक कार्यान्वयनमा अझै प्रवेश गरिसकेको छैन । संरचनाहरु मात्रै खडा भएका छन् । केही समय तिनको व्यवस्थापनमै लाग्ने छ । कहिले बन्ला स्मार्ट सिटी, मान्छेहरुलाई हतारो भईसक्यो । तर, सरकारी निकायहरु झन भन्दा झन लथालिङ्ग बन्दै गएका छन् । 

काठमाडौं अस्तव्यस्त छ, भन्ने कुरा अब काठमाडौँमा बस्नेलाई मात्र होईन दुनियालाई थाहा छ। सञ्चारमाध्यमको बढ्दो विकास र सामाजिक सञ्जालको बढ्दो प्रयोगले अब काठमाडौँमा हुने सानासाना कुराहरु दुनियाभर फैलिन्छन् ।

पहिले जो काठमाडौँ आउँथ्यो उसैलाई मात्र थाहा हुन्थ्यो । केही समय अघि मात्रै गण्डकी प्रदेशको प्रदेशसभामा पोखराबारे चर्चा भएन, बरु गण्डकी प्रदेशको राजधानी पोखरा काठमाडौँ जस्तो अस्तव्यस्त र लथालिङ्ग नहोस् भन्ने कामना गरियो । 

अधिकांश सांसदले त काठमाडौजस्तो हुने हो भने, पोखरालाई राजधानी घोषणा गरेर नविगारौँ समेत भने । तर, काठमाडौँमा बस्ने नीति निर्माता तथा कार्यान्वयन गर्ने निकायका जिम्मेवार व्यक्तिहरुले खासै चासोका साथ लिएनन् । 

स्थानीय तहको निर्वाचन भएको एक वर्ष वितिसक्यो । तीन चौथाईको स्थिर सरकार बनेको पनि पाँच महिना कट्नै लाग्यो । तर, अहिलेसम्म व्यवस्थापनमा खासै प्रगति भएन।नागरिकले धूलो, धुँवा र हिलो, मैलो सहनु सामान्य भईसक्यो । त्यो के नौलो विषय भयो र ? प्रधानमन्त्रीले नै १० वर्षअघिको धूलो, हिलो मैलो हो, भ्वाँङपनि पूरानै हुन् भनिदिए। काठमाडौं महानगरका मेयरसाबलाई त काठमाडौँ महानगरभित्र कति घर बने भन्ने तथ्याङ्क समेत थाहा रहेनछ । पत्रपत्रिका, रेडियो, टेलिभिजनसँग निकटनै छैन भन्छन्, उनी। सूचना पनि उनले साथीभाइबाट थाहा पाउँछन् । 

चुनाव जितेपछि सामाजिक सञ्जाल प्रयोग गर्न पनि छोडिएको, सुनाउँछन् उनी । तर, उनको स्मार्ट सिटी र मोनो रेलको योजना जस्ताको त्यस्तै छ । न अघि बढेको छ, न पछि । महानगरको फोहर व्यवस्थापनसम्म राम्ररी गर्न सकेका छैनन्, उनले । 

बेवारिस मोटरसाईकलको संग्रहालय बन्दै ट्राफिक महाशाखा : मालिक कुर्दै ६८४ माेसा (नालीवेलीसहित)

सबै भन्दा फोहोरी प्रहरी !
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा २०७० सालदेखि बेवारिसे मोटरसाईकल थुप्रिएको छ । ट्राफिक कार्वाहीमा पर्ने दैनिक दर्जनौं मोटरसाईकल र साना गाडी पनि त्यहीँ ओसारिन्छ । मशाहाखाको आँगन र करेसो, बेवारिसे र नियम उल्लंघन गर्ने सवारीले भरिभराउ छ । यतिसम्म कि महाशाखा वेवारिसे मोटरसाइकलको संग्रालय हो कि जस्तो । 

यस्तै, उहिल्यै देखिको पुरानो प्रहरी चौकी रहेको कमल पोखरीमा पनि उस्तै छ, अवस्था । साह्रै अस्तव्यस्त । मोटरसाईलमात्र होईन अन्य सामानहरु पनि लथालिङ्ग छोडिएका छन् । महानगरीय प्रहरीविट गौशालाको हालत पनि कम छैन । यस्तै, तीनकुनेमा रहेको बानेश्वरविटमा पनि दिक्कै लाग्दो अवस्था छ। जहाँ जहाँ प्रहरीले मोटरसाईकल लगायत सवारीहरु थन्क्याउने गरेको छ, त्यहाँको हालत लगभग एउटै छ । एक ठाउँमा भएको भए, स्वभाविक भन्न सकिन्थ्यो तर, सबै ठाउँमा उस्तै देखिएकाले प्रहरी सबै भन्दा फोहोरी हो कि भन्ने अड्कल काट्न कुञ्जुस्याँई गर्नु पर्दैन होला ।

मासु काट्ने मुढा र माेसा एकै टाउँमा (कमल पाेखरी)

गाैशालाकाे विटकाे हालत पनि उस्तै 

कामै गर्दैन त प्रहरी ? 
ट्राफिक प्रहरी महाशाखाले फेला पारिएका मोटरसाईकल कस्का हुन भनेर धनी खुलेसम्म सम्पर्क गर्छ । धनी फेला नपरेपछि थन्क्याएर राखिदिने गरिएको छ । २०७० देखिका मोटरसाइकले सबै विवरण ट्राफिकको वेभसाइटमा राखिएको छ,  इन्जिन नम्बर, चेसिस नम्बर र नम्बर प्लेट सहित। तर, ति थुप्रोहरुमा २०६७–६८ देखिका मोटरसाईकल समेत छन् । ब्लु बुकसहित दाबी गर्न आउन पनि भनिएको छ । तर लिनेहरु आउँदैनन् । 

महाशाखामा खात लागेका माेसा

बर्षौदेखि सवारी धनी कुर्दै महाशाखा 
समयसीमा तोकेर यति समयसम्म लिन नआएमा, फेला पारिएका सवारी लिलाम गर्ने वा के गर्ने भन्ने अधिकार ट्राफिक प्रहरी महाशाखालाई छैन, भन्सार कार्यालयलाई मात्रै छ । महाशाखालाई सबभन्दा ठूलो टाउँको दुखाईको विषय नै यही छ । महाशाखाको नेतृत्व सम्हालिरहेका एसएसपी बसन्त पन्तले हाम्राकुरासँग भने, ‘धनीहरु आउलान् भनेर वर्षौँदेखि थुपारेर राखेका छौँ । प्रचारप्रसार गर्दा पनि आउँदैनन् । धनी खोज्दै जिम्मा लगाउन खोज्दा पनि आउँदैनन् ।’ २–३ वर्षसम्म कोही लिन आएन भने भन्सार पठाउने गरेका छौँ, उनले अगाडि भने, ‘एकै पटक पनि पठाउन मिल्दैन । आउँछन् कि भनेर कर्दा कुर्दै समय वितिहाल्छ ।’ महाशाखामा थन्किएका पूराना सवारी कहिलेसम्म राख्नु हुन्छ ? जवाफमा उनले भने, ‘अब सबै विस्तारै हट्दै जान्छन् ।’ हटाउनको पिरलो एकातिर छँदैछ, अर्कोतिर थपिनेले टाउको दुख्छ उनको ।   

अर्कोतिर, भन्सारमा लगेर बुझाइदिँदा, कसैले भन्सार तिरेर, कर तिरेर प्रमाण सहित मेरो बाइक देऊ भन्न आयो भने के गर्ने ?, ट्राफिक कार्यालय उल्टो फसादमा पर्ने । नबुझाउँ भने कति वर्षसम्म थन्क्याएर राख्ने ? यति समयसम्म थन्क्याएर राखिदिने र तोकिएको समयसम्म सवारी धनी सम्पर्कमा नआए भन्सारमा बुझाइदिने मात्रै व्यवस्था गरिदिने हो भने पनि महाशाखालाई राहत हुने देखिन्छ । ट्राफिक प्रहरी वा महानगरीय प्रहरीविटहरु महानगरले फोहर फाल्ने डम्पिङ साइट जस्तै भएका छन् । 

बानेश्वरमा पनि याे हालत 

नयाँ