- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा २०७० सालदेखिका बेवारिस मोटरसाईकलको रास थुप्रिएको छ । ट्राफिक कार्वाहीमा पर्ने दैनिक दर्जनौं मोटरसाईकल र साना गाडी पनि यहीँ ओसारिन्छ। मशाहाखाको आँगन र करेसो, बेवारिसे र नियम उल्लंघन गर्ने सवारीले भरिभराउ छ । त्यहाँ पुग्दा लाग्छ, यो ठाउँ गाडी थुपार्ने साइट हो।
महाशाखाका सह प्रवक्ता डीएसपी मुकुन्द मरासिनीलाई २०७० देखि बेवारिसे भएका करीब ७०० मोटरसाइकल थन्को लगाउने उपाय फेला नपर्दा आक्रोस छ । हाँसो पनि लाग्छ । यही दरमा बेवारिसे मोटरसाईकल थुपार्दै जाने हो भने, अब कार्यालय परिसरमा राख्ने ठाउँ नै हुँदैन । यस्सो हेर्दा पनि उराठ लाग्दो हुन लागिसक्यो । कतै महाशाखा नै यस्ता बाइकले ढाकिने स्थिति बन्ने त होइन? मरासिनिको सिरिङ्गो तात्छ बेलाबेलामा ।
बग्गीखानामा २०७० यताका ६ सय ८४ वटा मोटर साइकल बेवारिसे बनेर थन्किएका छन् । ती मोटरसाईकल लाख रुपैयाँ घटीका पक्कै होइनन् । तर सवारी धनीहरुलाई वास्तै छैन, सोधखोज गर्न पनि आउँदैनन् । कस्ता मान्छे होलान् आफुलाई दुःख सुखमा बोकेर हिँड्ने सवारी पनि खोज्न नआउने? ती मोटरसाईकलका धनीलाई नालायक लम्फूहरु भन्दै उनलाई हाँस्न पनि मन लाग्छ ।
महाशाखाले अगाडीको आँगनमा राख्ने ठाउँ नभएपछि, बेला बेलामा फेला पारिएका मोटर साइकल पछाडी करेसामा समेत थन्क्याएर राख्ने गरेको छ । “अब त राख्ने ठाउँको समेत अभाव हुन थालिसक्यो”, डीएसपी मरासिनीले भने “अबको दुई महिनाभित्र आधाभन्दा बढी चाहिँ भन्सार विभागको जिम्मा लाइदिन्छम्” ।
परिसरमा थन्किएका बेवारिसे मोटरसाइकल संख्या (श्रोतः ट्राफिक महाशाखा)
साल २०७१ २०७२ २०७३ २०७४ जम्मा
थन्किएका १६ ६६ २०४ ३९८ ६८४
पाँच वर्षदेखि किन थन्क्याएर राखियो त ती मोटरसाइकल ?
महाशाखाका सहायक प्रवक्ता मरासिनीले तर्क गरे “हेर्नुस् सवारी धनीहरु जिम्मेवार नदेखिए पनि यी मोसा (मोटरसाईकलको ट्राफिक जार्गन) व्यक्तिका नीजि सम्पत्ति हुन्, नीजि सम्पत्ति संरक्षण गर्नु राज्यको दायित्व हो, त्यत्तिकै लिलामी गरिदिन पनि मिल्दैन, खासमा कानुनकै समस्या छ । फेला पारिएका मोसा कति महिना, वर्ष राखिदिने भन्ने नै छैन । त्यसैले ठाउँ साँघुरिँदै गएपनि थन्क्याएर राखिदिनु पर्ने बाध्यता छ, अब भने आधाजति भन्सारमा बुझाइ दिने हो ” ।
कसरी आइपुग्छन् यस्ता मोसा महाशाखामा ?
बग्गीखानामा मोसा पुग्ने र थन्किने थरी थरीका प्रक्रिया छन् । गएको बैशाखदेखि माघ मसान्तसम्म नै ९ सय ३२ वटा मोसा हराएको भन्दै महाशाखामा निवेदन परेको छ । यसको अर्थ मासिक ९३ वटा मोटरसाईकल हराउने गरेको छ, उपत्यकामा । हेर्नुस् रेकर्ड (श्रोत ट्राफिक महाशाखा)
हराएको निवेदन आएपछि ग्यारेज, शो रुम, मेलापर्व विशेषको बेला निगरानी गरिन्छ । जस्तो होली वा कुनै मेला पर्वको बेलामा ट्राफिक प्रहरीले दुई तीन हजार मोटरसाईकल समात्ने गर्छ । समात्दाको बेला लाइसेन्स छैन, ब्लू बुक ल्याइन, घरमा छ, भोली लिन आउँछु भन्छन्, जान्छन् । लिन आउँदैनन् । ती मोटरसाईकल थन्किन्छन् । “छैन भनेपछि के गर्ने” ? डीएसपी मरासिनी भन्छन्, “समातेर राख्न मिल्दैन, थुन्न मिल्दैन हामीले” । त्यही बेला डिटेल विवरण किन नलिने त ? उनको रेडिमेड जवाफ छ “लाखौं पर्ने मोटरसाईकल छाडेर को भाग्लान् भन्ने हुन्छन् त यार” !
कतिपय मोटरसाईकल बेवारिसे अवस्थामा पनि छाडिएका हुन्छन् । ती पनि उठाउनै पर्रयो । कुनै बेला दुर्घटना हुन्छ । ट्राफिकले बाइक उठाएर ल्याउँछ, धनी लिन आउँदैनन्, दुर्घटनामा परेको बाइक के लिनु भन्ने सोचले पनि। हराएको भनिएका कतिपय मोसा चोरी हुने गरेको छ । चोरिएका कतिपय मोसा ट्राफिकले फेला पार्छ। तिनका धनी खोज्नै आउँदैनन् । उल्टै फन्दामा परिने डरले ढिम्किँदैनन् । यस्तै यस्तै तरीकाबाट यी मोटरसाईकल थन्किएर बसेका छन् महाशाखामा ।
किन आउँदैनन् लिन ?
बेवारिसे मोसाका धनी किन फेला पर्दैनन् ?
चोरी गर्नेले सजिलै नम्बर प्लेट फेरिदिन सक्छ । इन्जिन नम्बर र चेसिस नम्बर फेर्न सजिलो छैन । तर यातायात व्यवस्था विभागले डिजिटल रेकर्ड सिष्टम राख्ने जाँगर अझै देखाएको छैन । अझै ढड्डा पल्टाएरै हेर्ने हालतमा छ । इन्जिन नम्बर र चेसिस नम्बर हेर्नासाथ सवारी धनीको पूर्ण विवरण हेर्न मिल्ने रेकर्ड सिष्टम बनाएर शेयर गरिदिने व्यवस्था मिलाउन सकेमा, बेवारिसे सवारीका धनी सजिलै फेला पार्न सक्छन् । अर्को कुरा लाइसेन्स नविकरण गर्ने बेलामा चालकले पहिले के कसो गर्यो भनेर पूर्व रेकर्ड हेर्ने चलन नै छैन । त्यसैले रेकर्ड सिष्टम डिजिटलाइज गर्नु अनिवार्य छ । यो मामलामा विभाग कानमा तेल हालेर बसेको अबस्था छ ।
बेवारिसे मोसाको व्यवस्थापनका लागि के गर्दै छ महाशाखा ?
महाशाखाले फेला पारिएका मोटरसाईकल कस्का हुन भनेर धनी खुलेसम्म सम्पर्क गर्छ । धनी फेला नपरेपछि थन्क्याएर राखिदिने गरिएको छ । २०७० देखिका ६ सय ८४ वटै मोसाको डिटेल ट्राफिकको वेभसाइटमा राखिएको छ, इन्जिन नम्बर, चेसिस नम्बर र नम्बर प्लेट सहित । ब्लु बुकसहित दाबी गर्न आउन पनि भनिएको छ। तर आएका छैनन्। यतिबेला महाशाखाले, ती बाइकको इन्जिन छुट्याएर, कम्पनी छुट्याएर सम्बन्धित कम्पनी र डिलरलाई यी बाइक तपाइँको कम्पनीका हुन् होइनन्, ती बाइक कस्को नाममा बेच्नु भएको छ भनेर पत्र पठाइसकेको छ।
नियम नहुँदा अन्यौल
समयसीमा तोकेर यति समयसम्म लिन नआएमा, फेला पारिएका सवारी लिलाम गर्ने वा के गर्ने भन्ने अधिकार ट्राफिक प्रहरी महाशाखालाई छैन, भन्सार कार्यालयलाई मात्रै छ । महाशाखालाई सबभन्दा ठूलो समस्या यही छ ।
एकातिर लगेर बुझाइदिँदा, कसैले भन्सार तिरेर, कर तिरेर प्रमाण सहित मेरो बाइक देऊ भन्न आयो भने के गर्ने, ट्राफिक कार्यालय उल्टो समस्यामा पर्छ, नबुझाउँ भने कति वर्षसम्म थन्क्याएर राखिदिने ? यति समयसम्म थन्क्याएर राखिदिने र तोकिएको समयसम्म सवारी धनी सम्पर्कमा नआए भन्सारमा बुझाइदिने मात्रै व्यवस्था गरिदिने हो भने पनि महाशाखालाई राहत हुने देखिन्छ । स्पष्ट कानुनको व्यवस्था नहुँदा ट्राफिक महाशाखा बेवारिसे बाइकको संग्रहालय बन्ने जोखिममा परेको छ ।