बनेपाको पुल बजार क्षेत्र पनि डुबानमा, अरनिको र बिपी राजमार्ग अवरुद्ध
प्रकाशित २०७५ असार २८ बिहिबार
599
Shares
भक्तपुर । गए राति परेको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् ।
हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।
राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए ।
जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।
मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन् । चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको स्थानीय सञ्चारकर्मी पुष्करराज बुढाथोकीले जानकारी दिए । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन् ।
यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए ।
बनेपाको पुल बजार क्षेत्र पनि डुबानमा, अरनिको र बिपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक जिल्लाको पुल बजार क्षेत्र पनि डुबानमा परेको छ। अरनिको राजमार्ग अन्तर्गत पर्ने पुल बजार क्षेत्रमा सवारी नै अवरुद्ध हुने गरि पानी जमेको छ। स्थानियहरु घर बाहिर निस्कन सक्ने अवस्था नभएको बताइएको छ।
निरन्तरकाे वर्षाले खोलामा बाढी आउनुका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ ।
यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताउनुभयो । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ ।
सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए ।
खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ ।