काठमाडौं । काठमाडौं उपत्यका पनि वर्षाले डुब्नुलाई निको मानिन्न । किनकि यहाँ ढलको व्यवस्था छ । अनि सबैभन्दा सुगम क्षेत्र पनि मानिन्छ । तर मान्नु र यथार्थमा यही फरक छ जसले गर्दा अहिले भक्तपुर क्षेत्र डुबानमा परेको छ । तराईमा जसरी नै काठमाडौं उपत्यका डुबानमा पर्नु आफैमा व्यङ्ग्य हो ।
काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को खाल्डोमा धेरै विज्ञ छन् । यो खाल्डोमा बस्न रुचाउने धेरै भएर पनि होला यहाँ जग्गाको अभाव छ । दुई–तीन आना जग्गा पाए पनि लिएर घर बनाउनेहरु धेरै छन् । त्यतिमात्र होइन सरकारी कर्मचारीको अकर्मण्डयता, विज्ञहरुको अदूरदर्शीता र सरकारमा जाने प्रतिनिधिहरुको दलाली प्रवृत्तिले अहिले यो उपत्यका कुरुप भइरहेको छ ।
त्यही कुरुपताले गर्दा आब्हान नै गरेर प्राकृतिक विपत्ति निम्त्याइएको छ । भक्तपुरमा पछिल्लो चार वर्षमा दुई वटा ठूला बाढीका घटनाहरु भएका छन् । एक सय किलोमिटर स्क्वायर भन्दा ठूलो क्षेत्रमा फैलिएको जलाधारको लागि त्यसमा प्रबाह हुन सक्ने बहाबको सही मूल्याङ्कन नगरी संरचनाहरु निर्माण भएरै होला डुबानको समस्या बढ्दो छ ।
नदी संकुचन पनि कारण भएकोमा दुई मत छैन । नेपालमा खोला नै बेच्ने चलन छ । सडक नै बेच्ने विकृति छ । यसैले गर्दा भक्तपुरले खुल्ला ठाउँ पाएन । खोलाले आफ्नो धारमा बग्न पाएन । यतातर्फ ध्यान गएन भने काठमाडौं उपत्यकाका धेरै ठाउँ डुबानमा पर्नेछन् ।
एक रात वर्षा हुँदा भक्तपुरले त्यो बेहाल बेहोरेको छ । निरन्तर वर्षा भयो भने भक्तपुर डुब्नेछ । जथाभावी संरचनाका कारण ललितपुर पनि अछुतो छैन । सुनको भाउमा बिक्री हुने काठमाडौं अझ बढी खतरा बेहोर्न वाध्य हुनेछ ।