arrow

शान्त प्रवृतिका मोड्रिक यसरी बने विश्वकपका हिरो 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
Modric.jpg

काठमाडौं। बुधबार इंगल्याण्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ। यो टोलीलाई यहाँसम्म ल्याउनको लागि नेतृत्व दिने खेलाडी हुन्–लुका मोड्रिक । यी खेलाडी अहिले रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । आक्रमक मिडफिल्डरको रुपमा खेलिरहेका यी खेलाडी निकै शान्त प्रवृतिका छन् ।

क्रोएसियाका लागि यी खेलाडीको योगदान निकै महत्वपूर्ण रहेको छ । यिनले आफ्नो टोलीको लागि सही निर्णय र योजनाहरुको साथमा रुस विश्वकपको फाइनलमा पुर्‍याएका हुन् । बुधबारको खेलमा जित हासिल गरेसँगै मोड्रिकले फाइनलमा पुग्नु आफ्नो टोलीका लागि एक चमत्कार रहेको बताएका थिए । स्वतन्त्र भएको २७ वर्षमा नै टोलीले पहिलोपटक फाइनलसम्मको यात्रा तय गर्नु साँच्चै नै एक चमत्कार साबित भएको हो । 

मोड्रिक ६ वर्षको हुँदा उनका हजुरबुबाको विद्रोही समुहले हत्या गरेको थियो । उनका बाबु क्रोएसियाको आर्मीबाट युद्ध लडिरहेका थिए । मोड्रिकले पनि सात वर्षसम्म शरणार्थी जीवन बिताउनु परेको थियो । मोड्रिक शरणार्थी जीवन बिताइरहेको अवस्थामा आफूलाई राम्रो मानिस बनाउने चिन्ता आफ्नो परिवारमा रहेको पाउँथे । उक्त कठिन अवस्थामा पनि उनले आफ्नो फुटबल खेल्ने इच्छालाई दबाएनन् र फुटबल खेल्न थाले । सन् २००५ मा उनी क्रोएसियाको डाइनामो जाग्रेब क्लबमा १० वर्षको लागि अनुबन्धित भए । अनुबन्धित भएसँगै उनले त्यसबाट आएको पैसाबाट आफ्नो परिवारका लागि एक फ्ल्याट खरिद गरेका थिए । 

सन् २००८ मा इंगल्याण्डको चर्चित क्लब टोटनह्यामले उनलाई एक करोड ६५ लाख पाउण्डमा खरिद गरेको थियो । यो सम्झौता छ वर्षको लागि रहेको थियो । यद्यपि सन् २०१२ मा उनी रियल मड्रिडमा आबद्ध भएका थिए । यतिबेला भने उनलाई तीन करोड पाउण्डमा खरिद गरिएको थियो । त्यसयता उनी सोही क्लबमा आबद्ध छन् । उनले ला लिगामा सन् २०१६ मा सबैभन्दा उत्कृष्ट मिडफिल्डरको उपाधि पाएका थिए । 

अन्तर्राष्ट्रिय फुटबलको सुरुवात भने उनले अर्जेन्टिनाको टोलीको विरुद्धमा गरेका थिए । सन् २००६ मा आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरेका उनले पहिलो गोल भने इटालीविरुद्धको खेलमा गरेका थिए । क्रोएसियाको मिडफिल्डमा उनको उपस्थितिले ठुलो हौसला मिल्ने टोलीका अन्य सदस्यहरु बताउँछन् । अहिले पनि मोड्रिकको क्षमताको अवमूल्यन भइरहेको केहीले बताउँदै आएका छन् । उनीहरुले अबको दिनमा भने यस किसिमको अवमूल्यनलाई सुधार गर्नुपर्ने अवसर रियल मड्रिडलाई रहेको बताएका छन् ।

क्रोएसियाको टोलीका लागि मोड्रिकको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको र यो टोलीलाई अघि बढाउनसक्ने क्षमता पनि उनीमा रहेको क्रोएसियाका पूर्व प्रशिक्षक स्लाभेन बिलिक बताउँछन् । उनका अनुसार मोड्रिक कहिल्यै पनि स्वार्थी खेल देखाउँदैनन् जसको कारण टोलीमा अर्को व्यक्तिलाई हिरो बनाउने भूमिका उनको रहँदै आएको छ । उनले प्रिमियर लिगमा रहँदा ३ सय खेलमा केवल २२ गोल गरेका थिए ।  यसले पनि उनको खेलको योगदान समग्र टोलीका लागि रहने गरेको पुष्टि भएको हो । 

तथ्यांकको हिसाबमा कमजोर बनेका भए पनि उनी निकै मूल्यवान् खेलाडी रहेको विश्लेषकहरु बताउँछन् । खेलमा गोलका साथै अवसरको पनि महत्वपूर्ण भूमिका हुने भएकोले मोड्रिकको भूमिका पनि निकै महत्वपूर्ण हुने उनीहरुको तर्क छ । मोड्रिक आफू युद्धको क्रममा शरणार्थी जीवन बिताइरहेको अवस्थामा जीवनमा केही महत्वपूर्ण उपलब्धि हासिल गर्ने सपना देख्थे । अहिले उनी आफ्नो निकै महत्वपूर्ण खुसीभन्दा केवल एक कदम टाढा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ