arrow

इंगल्याण्ड र बेल्जियमबीचकाे खेलमा गाेल्डेन बुटका लागि प्रतिस्पर्धा

logo
प्रकाशित २०७५ असार ३० शनिबार
kane-lukaku.jpg

काठमाडौं । रुस विश्वकपमा शनिबार तेस्रो स्थानको लागि इंगल्याण्ड र बेल्जियमको विरुद्धमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे यी दुई टोलीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । विश्वकपको अन्तिम खेल हुनुभन्दा एक दिनअघि हुन गइरहेको यो खेलले यो प्रतियोगितामा सबैभन्दा बढी गोल गर्दै गोल्डेन बुट पाउने खेलाडीको चयन गर्ने सम्भावना रहेको छ । 

विश्वकपको उपाधि हासिल गर्ने लक्ष्यका साथ आएका दुई टोलीहरुको बीचमा शनिबार हुन गइरहेको तेस्रो स्थानको खेल निकै महत्वपूर्ण हुनसक्ने देखिन्छ । पहिलो सेमिफाइनलमा फ्रान्ससँग हारेको बेल्जियम र दोस्रो सेमिफाइनलमा क्रोएसियाले अतिरिक्त समयमा पराजित गरेको इंगल्याण्डको बीचमा तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुन गइरहेको हो । 

यी दुवै टोली एउटै समुहबाट आएका टोलीहरु हुन् । समुह जीबाट पहिलो हुँदै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको थियो भने इंगल्याण्ड उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको थियो । शनिबारको खेलमा जित हासिल गर्न सकेको खण्डमा इंगल्याण्डले विश्वकपमा सन् १९६६ यताकै सबैभन्दा राम्रो विश्वकपको नतिजा हासिल गर्नेछ । जतिबेला उसले जुलेस रिम्याट ट्रफी जितेको थियो । यसअघि सन् १९९० मा इंगल्याण्ड सेमिफाइनलमा पुगेको थियो तर उसले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा भने गुमाउन पुगेको थियो । 

बेल्जियमका लागि भने शनिबारको खेल निकै महत्वपूर्ण हुनेछ । शनिबारको खेलमा जित हासिल गर्न सकेको खण्डमा बेल्जियमको लागि यो विश्वकप निकै सुनौलो बन्नसक्ने देखिन्छ । 

अहिलेसम्म यी दुई टोलीको बीचमा २२ पटक प्रतिस्पर्धा भएको छ । जसमा १५ खेलमा इंगल्याण्ड विजयी भएको छ भने दुई खेलमा बेल्जियमले जित हासिल गरेको छ । पाँच खेल बराबरीमा सकिएको छ । यो विश्वकपको समुहचरणमा भएको खेलमा बेल्जियमले इंगल्याण्डलाई हराएको थियो ।
 
शनिबारको खेलले विश्वकपमा गोल्डेल बुट कसले पाउने भन्ने कुराको पनि निक्र्योल गर्नेछ । शनिबारको खेलमा यो विश्वकपमा सबैभन्दा बढी गोल गर्ने ह्यारी केन र रोमेलु लुकाकुजस्ता खेलाडीहरु मैदानमा उत्रिने भएको कारण पनि यसमा गोल्डेन बुटको छिनोफानो हुनसक्ने देखिएको हो । अहिलेसम्म इंगल्याण्डका ह्यारी केनले ६ गोल गरेका छन् । 

शनिबारको खेलमा उनले कुनै गोल गर्न नसकेको र लुकाकुले ह्याट्रिक पूरा गरेको खण्डमा उनी गोल्डेन बुटका लागि दाबेदार हुनेछन् । लुकाकुले ४ गोल गरेका छन् । फ्रान्सका कायलिन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले समान ३/३ गोल गरेकाले आइतबारको खेलमा उनीहरुको पनि गोल्डेन बुट पाउने सम्भावना भने कायम रहनेछ ।   

केनले शनिबार १ गोल मात्र गरेको खण्डमा पनि उनी सन् २००२ यता विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्नेछन्, जतिबेला रोनाल्डोले ८ गोल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ