arrow

यसकारण फ्रान्सले जित्नसक्छ विश्वकप 

logo
प्रकाशित २०७५ असार ३० शनिबार
france8.jpg

काठमाडौं । आइतबार रुस विश्वकप २०१८ को अन्तिम खेल अर्थात् फाइनल खेल हुँदैछ । २१ औं संस्करणको विश्वकपको उपाधिका लागि क्रोएसिया र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुँदैछ । 

विश्वकपको फाइनलसम्मको यात्रा गर्नु कुनै पनि टोलीका लागि निकै महत्वपूर्ण कुरा हो । यो विश्वकपमा फ्रान्स निकै कठिन चुनौतीहरुको सामना गर्दै फाइनलमा आइपुगेको छ । रुस विश्वकपको उपाधि हासिल गर्दै दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ फ्रान्सले आफ्नो तयारी पनि तीव्र पारेको छ ।

यो विश्वकप जित्नका लागि फ्रान्सको टोलीमा रहेका तीन विशेषताहरु यसप्रकार छन् – 

१. क्षमता

फ्रान्सको टोली अहिले रक्षात्मक तथा आक्रामक दुवै किसिमको खेलमा अब्बल देखिएको छ । यो विश्वकपको सुरुवातदेखि अहिलेसम्मको अवधिमा फ्रान्सले केवल ९ मिनेटमात्र पछि परेर खेलेको छ । फ्रान्सका गोलकिपरले पछिल्लो सात पटकको प्रहारलाई बचाएका छन् । पछिल्लो ११ खेलमा फ्रान्सले ८ मा जित हासिल गरेको छ । अर्जेन्टिनासँगको खेलमा फ्रान्सका कायलिन एमबाप्पे पेलेपछि सबैभन्दा कम उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने खेलाडी बन्न पुगेका थिए । 

२. टोलीको भावना 

बेल्जियमका प्रशिक्षकले सेमिफाइनल खेल हुनुभन्दा पहिले टोलीमा को कतिको क्षमतावान् छन् भन्ने कुराले कुनै अर्थ नराख्ने र खेलमा टोलीले कस्तो खेल्छ भन्ने कुरा महत्वपूर्ण रहने बताएका थिए । यसको प्रमाण फ्रान्सको टोलीले दिएको छ । नकआउट चरणदेखि डिफेन्डर, मिडफिल्डर र फरवार्डहरुको बीचमा बेजोडको तालमेल देखिएको छ । फ्रान्सको टोलीका सबै सदस्यहरु आफ्नो टोलीका लागि शतप्रतिशतको योगदान तयार देखिन्छन् । 

३. इतिहास 

फ्रान्सले  अहिलेसम्म एकपटक मात्र विश्वकपको उपाधि हासिल गरेको छ । सन् १९९८ मा विश्वकपको उपाधि हासिल गरेको टोली दोस्रोपटक यो उपाधि हासिल गर्ने दाउमा देखिएको हो । फ्रान्सले विश्वकप जित्दा सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेको थियो । आइतबारको खेलमा फ्रान्सले जित हासिल गरेको खण्डमा खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्नेमा डिडियर डेस्काम्पस मारिओ जागालो र फ्रान्ज बेकेनबाउरपछिका तेस्रो व्यक्ति बन्नेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ