चिकित्सा क्षेत्रको रोग कृषि र वन विज्ञानमा छिर्याे
निजीलाई सम्बन्धन दिएको विरोधले कृषि तथा वनविज्ञान विश्वविद्यालय अशान्त
प्रकाशित २०७५ असार ३२ सोमबार
1k
Shares
रत्ननगर । सम्बन्धनको विवादले अब चिकित्सा शिक्षा क्षेत्र मात्रै ग्रसित रहेन । त्यो रोग अब कृषि तथा वनविज्ञानमा पछि छिरेको छ । कृषि बाली र वनस्पतिमा लागेका रोग सजिलै पहिचान र निदान हुन सक्लान् तर, सम्बन्धन विवादको निदान खोज्ने विज्ञहरु अहिलेसम्म भेटिएका छैनन् ।
चिकित्सा पिक्षा सुधारको सुझावका लागि वृहत्तर माथेमा आयोग बन्यो । त्यसको प्रतिवेदन आयो । जसले आम नागरिकलाई हित हुने कुरा समेटेको दाबी गरिन्छ । तर, त्यसको कार्यान्वयनका जिम्मेवारहरु त्यो किन परिवर्तनीय नहुने ? भनिरहेका छन् । चिकित्सा शिक्षा क्षेत्रकाे मूल विवाद नै सम्बन्धन हाे । आम विश्वविद्यालयमा यो रोग छँदै थियो । त्यो नौलो कुरा पनि भएन । तर, त्यो रोग विषयगत विद्यालयमा छिरेर यत्ति धेरै खोक्रो बनाईसकेको कुरा पहिलो हो ।
चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय कृषि क्षेत्रको विषयगत एक मात्रै विश्वविद्यालय हो । तर, त्यो विश्वविद्यालयले विद्यार्थी थेक्न नसक्दा निजी क्याम्पसलाई सम्बन्धन दिएको बताईदै छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका उपकुलपति ईश्वरीप्रसाद (आईपी) ढकालले सम्बन्धको विषयले आन्दोलन चर्किएको बताए । उनले आन्दोलनको कारणबारे थप कुरा भने गर्न चाहेनन् ।
उनले आन्दोलनको कारणबारे लामो संवाद गर्न अस्वीकार गरे । उनले भने, ‘अहिले सम्बन्धनको विषयले फरक रुप लिएको छ । मैले केही भन्न सक्ने अवस्था छैन ।’ विश्वविद्यालयले सात निजी क्याम्पसलाई सम्बन्धन दिनासाथ विद्यार्थी आन्दोलित भए । अहिले विद्यार्थीसँगै प्राध्यापक समेत आन्दोलित भएका छन् ।
आन्दोलनरत प्राध्यापकले विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गर्दै विरोधमा उत्रिएको बताए ।
विश्वविद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । अघिल्लो वर्ष पनि सम्बन्धनको विषयमा प्राध्यापक र विद्यार्थीले आन्दोलन गरेका थिए । विद्यार्थीले सम्बन्धन खारेजीको माग गर्दै असार २६ गतेबाट नै विरोध प्रदर्शन र धर्ना कार्यक्रम जारी राखेका छन् ।
केही दिनअघि मात्रै रामपुर विश्वविद्यालयले ६ कृषि र एक वन विज्ञान गरी सातवटा क्याम्पसलाई सम्बन्धन दिएको थियो । चार वर्षअघि दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराए । उपकुलपति ढकाल भन्छन्, ‘मापदण्ड पुगेका सात क्याम्पसलाई सम्बन्धन दिएका हौँ ।’ उनले मापदण्ड पुगेको भए विद्यार्थी र प्राध्यापक किन आन्दोलित भए भन्ने कुरा बोलाएनन् ।
उनले सरकारी क्याम्पसले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनुपरेको बताए । गुणस्तरीय शिक्षामा सम्झौता नहुने प्रतिवद्धता उनले जनाएका छन् । विद्यार्थीको संख्या धेरै भएकाले पनि सम्बन्धन दिनु आवश्यक भएको उहाँको भनाइ छ ।
केही दिन पहिले पूर्वाञ्चल कृषि क्याम्पस झापा, कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतले सम्बन्धन पाएका थिए ।
उपकुलपति ढकालका अनुसार सबै कलेजले ५०–५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले अहिलेसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताए ।
उनले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउदो शैक्षिक सत्रबाट सञ्चालन गर्ने तयारी भइरहेको समेत बताए । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो ।