डा. केसीका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी
प्रकाशित २०७५ साउन १ मंगलबार
677
Shares
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कामा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेर गल्ति गरेको आरोप लगाउँदै उनले भने,‘कांग्रेसले बिरोध सूचना पनि हाल्ने, प्रतिस्थापन विद्येयकका बारेमा निर्णयपनि चाहियो भन्ने ? कसरी कुरा मिल्छ ? स्वास्थ्यमन्त्री संसदमा बोल्न नपाउने कसरी मागहरु पूरा हुन्छन् ? गोविन्द केसीले उठाउनु भएका मागहरुप्रति सबै सकारात्मक छन्, केही मागहरुमा केही असहमति रहेका छन्, ती मागहरु र चिकित्सा शिक्षा विद्येयकलाई छलफलको माध्यममा लैजानुपर्छ र सुरुमा उहाँको ज्यान बचाउनुपर्छ ।’
उनले अघि थपे,‘ससदमा विद्येयक लैजाने हो र मतदान गर्ने हो भनेपनि परिणाम फरक आउँछ, त्यो भन्दा विज्ञहरुको सुझाव र डा.केसीले उठाउनु भएका मागहरुलाई उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ, प्रत्येक प्रदेशमा एउटा शिक्षण अस्पताल खोलिनुपर्ने कानूनमै व्यबस्था छ, दुई–दुई वटा खोल्दा केही फरक पर्दैन तर स्वास्थ्य क्षेत्र पूर्णत: जनताको हितमा हुनुपर्छ ।’
भौगोलिक स्थितिलाईमात्रै आधार मानेर मेडिकल कलेज खोल्न नहुनेमा उनले जोड दिएका छन् । उनले भने,‘मेडिकल केलज खोल्दा भूगोललाईमात्रै ध्यान दिएर हुँदैन, जनसंख्यापनि मुख्य कुरा हो, काठमाडौंमा १० वर्ष पहिले र आजको जनसंख्या एउटै छैन्, सबै कुराहरुलाई ध्यानमा राखेर मेडिकल कलेज खोल्नुपर्छ स्वास्थ्योपचार नि:शुल्क हुनुपर्छ, नेताहरुलाईमात्रै सुविधा दिने र गरिव जनताले उपचार नपाएर मर्नुपर्ने स्थिति हुनुहुँदैन ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सञ्जय गौतमले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । नेता गौतमले अनशनरत डाक्टर केसीलाई कांग्रेसको कार्यकर्ताका रुपमा परिभाषित गरेर सरकारले गल्ति गरेको भन्दै तत्काल केसीको जीवन रक्षा गर्न समेत माग गरे ।
उनले भने,‘कुरा सुन्दापनि हाँसो उठ्छ, स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्र सबल, राम्रो र गुणस्तरीय हुनुपर्छ भनेर डाक्टर केसीजस्तो सादगी व्यक्तिले सत्याग्रहको माध्यायमबाट आवाज उठाउनुलाई कुनै दलसँग जोडेर हेर्न मिल्छ ?’
नेकपाका नेताहरुले बोलेका कुराहरुले सरकार कति जिम्मेवार छ र नेकपाका नेताहरुमा दुई तिहाईको दम्भ कति रहेछ ? भनेर जान्न सकिने उनको धारणा छ । उनले थपे,‘सरकारले कांग्रेसलाई केही नपाएर गोविन्द केसीलाई बोकेको छ, उचालेको छ जस्ता आरोप लगाउँदै आएको छ, माथेमा प्रतिवेदनको आधारमा संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विद्येयकका बारेमा कांग्रेस सहमत छ, माथेमा प्रतिवेदन तयार पार्ने विज्ञ व्यक्तिहरुको सुझावलाई कांग्रेसले मानेको हो, कुनै व्यक्तिलाई बोकेर राजनीति गर्नुपर्ने स्थति कांग्रेसको छै्न।’
केसीको जारी १५ औं अनशन समाज र देशकै लागि भएको भन्दै सकारले यस्ता सामाजिक अभियन्ताहरुको जीवन रक्षा गर्नुपर्ने धारणा राखेका नेता गौतमले सरकार अपारदर्शी रुपमा अघि बढेको आरोप समेत लगाए ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।
उनले भने,‘हाम्रो पार्टीले केही समय अघि नै केसीको सत्याग्रहका बारेमा सरकार गम्भिर बन्नुपर्छ, सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्छ भनेको थियो, यति भन्दैमा केसीका सबै मागहरु जायज छन् र उनले भनेकै आधार सबै हुनुपर्छ भन्न खोजिएको होईन, संसद छ, सरकार छ, उहाँले उठाएका जायज मागहरु पूरा हुनैपर्छन्, केही मागहरुका बारेमा बिचार गर्नुपर्ने हुन्छ, हाम्रो लाईन स्पष्ट छ ।’
नेपालमा एम.बि.बिएसको गुणस्तरीय पढाई सञ्चालन गर्न सकेको खण्डमा विदेशबाट विद्यार्थीहरु पढ्न आउने नेता झाको दाबी थियो । उनले भने,‘हाम्रै मित्र राष्ट्र भारतमा धेरै देशबाट पढ्न आउँछन्, दुबईमा स्वास्थ्य शिक्षाको लागि कत्रो योजनाहरु अघि बढाएका छन्, हाम्रो देशमा मेडिकल कलेज बन्द गर्नुपर्छ भन्ने हुँदैन, केही पात्रको नामले पाउने केही पात्र नभएकै कारण नपाउने हुनुहुँदैन ।’