काठमाडौं । यो शैक्षिक सत्रमा विद्यालय बाहिर रहेका बालकालिकालाई स्कुलसम्म ल्याउने अभियान अन्र्तगत प्रधानमन्त्री र मन्त्रीहरु आफैले एक–एक जना विद्यार्थी भर्ना गरे । पछि, प्रधानमन्त्री र मन्त्रीले बोकेर विद्यालय भर्ना गराएका बालकालिका विद्यालय जाँदैनन् भन्ने खबर सुन्नमा आयो ।
विद्यालय बाहिर रहेका बालकालिकाको संख्या अझै यकिन भएको छैन । अर्कोतिर अब कुनै पनि क्षेत्रमा बालश्रमिक रहँदैनन् पनि भनिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने एनजीओ, आईएनजीओको खेती पनि फस्टाएकै छ ।
तर, स्कुल पठाउँदा पठाउँदै पनि स्कुल जान नमान्ने बालबालिकाको बाल मनोविज्ञान बुझ्ने नेपालमा कति संस्था वा निकाय छन् ? त्यसको खोजी भएको देखिँदैन ।
शहरमा घरै पिच्छे स्कुल छन् । ग्रामीण क्षेत्रमा भएका स्कुलहरुको अवस्था ठीक ठाक छैन । कतै स्कुलको वातावरणले नै पो स्कुल जान मानिरहेका छैनन् कि ? वा, अभिभावकले उनीहरुको रुचि बेगर जबर्जस्ती अर्कै स्कुलमा पठाए ? अथवा आर्थिक अवस्थाले स्कुल पठाउन सकिएन ? कहाँ, के कति कुराले तारतम्य मिलिरहेको छैन ? अनि सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले गरिब वा जेहेन्दारको नाममा खेती मात्रै गरे ? यसको लेखा जोखा छैन ।
त्यसैको प्रखर उदाहरण हुन्, रौतहटका दिपक गिरी । उनले आफ्नो नाम समते उल्टो पाल्टो बताउने गरेका छन् । उनले दुई कक्षासम्म मात्रै पढेका छन् । उनी १० वर्ष पुगिसके । दिपक अहिले काठमाडौँको गौरीघाट बस्छन् । गौरीघाटमा उनका आफन्त वा तानेदार छैनन् । अभिभावक भने पनि वा नातेदार, जे भनेपनि, उनका साहु लम्मण बैठा हुन् ।
स्कुल नभएकोबारे सोध्दा उनले सारदा स्कुलमा पढ्छु, विदाको बेला भएकाले यो काम गरेको भनि ढाँटे । अहिले स्कुल जाँदैनन् । तर, स्कुल ड्रेसमै हुन्छन् । उनलाई कसैले सोध्यो भने भन्न सजिलो हुन्छ, स्कुल जान्छु, विदा भएकाले गरिरहेको । उनले हामीसँग पनि त्यही भने । वास्तविकता भने अर्कै । यहाँ दिपकको चरित्र हत्या गर्न खोजिएको होईन । कुरा बाल मनोविज्ञान र हाम्रो संस्कारको हो । अनि, शिक्षा नीति र प्रणालीको पनि । कुरा स्कुल मात्रै खोलेर साक्षरता बढ्नै भन्ने वास्तविकताको पनि हो । दिपक अहिले काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेसम्म पुग्छन् । उनको काम हिँड्दै व्यापार गर्ने हो । बाँसको लाठीमा उनी बेलुन जस्तै फुलेको ‘मिठाई’बोकेर हिँड्छन् । त्यो मिठाई खाँदा गुलियो भए पनि मुखमा भने विलाउने ।
त्यसरी व्यापार गर्ने उनी मात्रै छैनन् । साथीहरु पनि छन् । उनको टोलीमा अर्थात बैठासँग काम गर्ने मात्रै चार जना छन् । हुन त, उनका साहु बैठाले पनि त्यही व्यापार गर्छन् । विहान ७ बजेबाट बेलुकी ६ बजेसम्म सडकमै हुन्छन् उनीहरु ।
साहुले कुरा खोले
दिपकले स्कुल जान्छु, र विदाको समय भएकाले यो काम गरेको भन्ने कुरा झुठो रहेछ भन्ने कुरा साहुसँग कुरा गर्दा मात्रै खुल्यो । साहुले केही लुकाएनन् । उनले भने, ‘मैले यिनीहरुलाई उनीहरुको बुबा आमासँग कुरा गरेर ल्याएको हुँ ।’ किन ? जवाफमा उनले भने, ‘स्कुल पठाउँदा पनि नजाने, बरालिएर हिँड्ने, घर परिवारलाई नटेर्ने भएपछि उनीहरुकै बुबा आमाको आग्रहमा मैले ल्याएको हुँ । महिनाको चार हजार बुबा आमालाई पठाईदिन्छु । यहाँ खान, बस्न, लुगा दिने गरेको छुँ ।’
साहुनै नै भरखरका । जम्मा २२ वर्ष । उनको घर रौतहट । उनले विक्रि गर्ने मिठाई आफै बनाउँछन् । मेसिन राखेका छन् । त्यसको ५२ हजार पर्छ । चिनी, रङ् मिलाएर बनाईने कुरा उनले सुनाए । रङ नभएको सेतो पनि हुन्छ, तर त्यो रुचाउँदैनन्, उनले भने, ‘त्यसैले रङ हालेरै बनाउँछौँ ।’ महिनाको ३०–३५ हजार कमाई हुन्छ,–भन्छन् उनी । यसको सिजन हुन्छ, सिजनमा अझ धेरै कमाई हुन्छ ।
पानी पर्ने महिना, जाडो र दशैँमा राम्रो कमाई हुने हुनाले त्यो बेला बेच्ने बच्चाहरु बढाउँछन् । उनले २०–२५ जना हुन्छन् । उनी काम गर्ने मान्छे फेरिहन्छन् । उनले पनि सानैमा यही गरेका थिए । यसरी नै सिकेको सुनाउँछन् अनि । कति कक्षासम्म पढ्नु भो ? उनले भने, ‘म त एक कक्षा पनि पढेको छैन ।’ यो विषय सामान्य होईन, असाधारण विषय हो । यस्ता विषयमा ध्यान नदिए कसरी होला ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा ? भोलि केलाई मापन गरेर सम्वृद्ध नेपाल भन्ने हो ?