काठमाडौं । आमरण अनसनरत प्राडा गोविन्द केसीको स्वास्थ्य उनी अनसन बसेको तीन दिनदेखि नै गम्भीर थियो । जुम्लामा अनसन बस्दा उनले त्यहींको सामान्य उपचार पाएका थिए । त्यसपछि स्लाइनसमेत लिन नमानेका उनको मनिटरिङ भने भएको थियो ।
२० औं दिनमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सरकारले अपहरणको शैलीमा बलजफ्ती डा केसीलाई काठमाडौं ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा छाडिदिएपछि उनले त्यहाँ उपलब्ध कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्वीकार गरेका छन् ।
गत बिहिबारदेखि उनको स्वास्थ्यमा के छ भन्ने अहिले अन्योल छ । २० औं दिन कर्णालीमा रहँदादेखि नै उनको मुटुको चालमा गम्भीर गड्बडी देखिएको थियो । शनिबार रातिसम्म उनको अवस्था पक्कै थप बिग्रिएको छ ।
सरकारले अपहरण शैलीमा ल्याएको, वार्तामा कुनै रुची नदेखाएको भन्दै उनी थप सुविधा लिएर आफ्नो स्वास्थ्यबारे अरुलाई जानकारी दिने मुडमा छैनन् । ईसीजी गरेर उनको मुटुको अवस्था समेत जान्न सकिएको छैन ।
उनका समर्थकले डा केसीलाई ज्यान जोगाउनका लागि केही पनि थप उपचारका लागि मनाउन सकेका छैनन् । बिहिबारपछि शनिबार साँझमात्र सरकारी वार्ता टोलीले डा केसीका पक्षका वार्ता टोलीलाई वार्तामा बोलाएको छ ।
तर त्यो बोलावट भने धम्कीयुक्त छ । घुर्कीयुक्त छ । बिना सर्त वार्तामा आउन गरिएको आब्हानले के अर्थ दिन्छ ?
यति लामो समयदेखि एउटा चिकित्सक मृत्युको मुखमा पुग्दैछ अनि सरकार भन्छ बिना सर्त वार्तामा आइज । सर्त बिनाको वार्ता हुन सक्छ ?
सर्त भएरै आमरण अनसनमा बसेका हुन् डा केसी । अहिलेसम्म सरकारले नाटक देखाइरहेको छ ।
डा केसीको रगतमा घटेका पोटासियम, म्याग्नेजियम , क्याल्सियम लगायतका इलेक्ट्रोलाइट्सको वर्तमान अवस्था के छ त्योसमेत थाहा छैन । उनको रक्तचापसमेत थाहा छैन ।
डा केसीलाई बिहिबारै सीसीयुमा राखेर उपचार गर्नुपर्ने भइसकेको थियो । उनले बोल्नसमेत सक्दैनन् । उनी गम्भीर छन् । जुनसुकै बेला तलमाथि हुन सक्छन् ।
उनलाई डर छ कतै अभियान तुहिने हो कि । उनी सर्वसुलभ चिकित्सा शिक्षा र सर्वसुलभ चिकित्सा सेवाका लागि उनले ज्यान हत्केलामा राखेका छन् ।
सरकार अझै पनि ख्यालठट्टा गरिरहेको छ । उनका समर्थकका माइतीघर मण्डलामा शनिबार पनि टाउका फुटेका छन् ।
उनको स्वास्थ्यको चासो कसैलाई छैन । भेटेरमात्र फर्कने हैन उनलाई अत्यावश्यक स्वास्थ्योपचारको व्यवस्था गरिनु पर्छ । आखिर यो तमासा कहिलेसम्म ?