काठमाडौं । साउन ६ । नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस । वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् ।
कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । पार्टीले बिहान पार्टी कार्यालयमा औपचारिक कार्यक्रम गरेको छ ।
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
वीपीको मेलमिलापको नीतिबारे काँग्रेस मात्र होइन कम्युनिष्टहरुले पनि सान्दर्भिक भन्दै आएका छन् ।
पार्टीहरुबीच मेल नभइ देश विकास हुन्न भन्ने थाहा भए पनि अवसरका लागि जुट्ने र अन्य बेलामा आपसमा द्धन्द्ध बढाइरहने परम्परा यद्यपि छ ।