डा. केसीको अनसन २३औँ दिनमा, सरकारी बेवास्ताले अहिलेसम्मकै लामो हुने
प्रकाशित २०७५ साउन ६ आइतबार
155
Shares
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको १५ अनसन सबैभन्दा लामो हुने देखिएको छ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २३ दिन भएको छ ।
सरकारी पक्षले आइतबार दिनभर माग सम्बोधनबारे सहमति नगरे डा. केसीको आन्दोलन अहिलेसम्मकै लामो हुनेछ । योसँगै उनको स्वास्थ्यमा देखिएको जटिलता थप गम्भीर बन्दै जाने चिकित्सकहरुले बताएका छन् ।
डा. केसी यसअघि १४ पटक अनशन बसिसकेका छन् । यसअघिका अनशनमा डा. केसी २३ दिनभन्दा बढी समय बसेका छैनन् । तर, यो पटक भने उनको सत्याग्रह लामो हुने देखिएको छ । सरकार उनका मागमा गम्भीर नभएको भन्दै दिनहुँ प्रदर्शन भईरहेको छ । यो अनशनमा पनि डा. केसीका माग लगभग उस्तै छन् । डा. केसीका मागमा पहिलेदेखि सहमति हुँदै आएपनि कार्यान्वयन फिटिक्कै छैन ।
यो पल्ट डा. केसी संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक माथेमा आयोग अनुसार तयार भएको अध्यादेशको भावना तोडमोड गरिएको विरोधमा अनसन बसेका हुन् । उनले २३ दिनअघि जुम्ला पुगेर अनशन सुरु गर्नु गरेका थिए ।
२० औँ दिनका दिन विहबिार स्वास्थ्य अवस्था जटिल भएको भन्दै सरकारले बलजफ्ती डा. केसीलाई सेनाको हेलिकोप्टरमा काठमाडौँ ल्याएको थियो । डा. केसी अहिले पुरानै ठाउँ त्रिवि शिक्षण अस्पतालमै अनसनरत छन् । उनले सरकारले माग पूरा गर्न गम्भीरता नदेखाएको भन्दै कुनै पनि स्वास्थ्य जाँच तथा औषधि लिन मानिरहेका छैनन् ।