शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर ओलीले निरंकुश चरित्र देखाए : शेखर कोइराला
प्रकाशित २०७५ साउन ६ आइतबार
603
Shares
बाँके । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले शान्तिपूर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर केपी ओली सरकारले निरंकुश शाही शासनको झझल्को दिएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले नेपालगञ्जमा गरेको वीपी स्मृती दिवसको कार्यक्रममा कोइरालाले बर्तमान सरकार कुनैपनि बहानामा लोकतन्त्र समाप्त गरेर मुलुकमा सर्बसत्ताबाद स्थापना गर्न लागिपरेको बताए।
कोइरालाले डा गोविन्द केसीलाई सत्याग्रह बसेको ठाउबाट जबर्जस्ती उठाएर सरकारले ठुलो गल्ती गरेको बताए। कोइरालाले भने-“कहिले उपकुलपतीलाई अपराधी जस्तो गरी बिमानस्थलबाट पक्रेको छ। कहिले सत्याग्रहमा बसेको डाक्टरलाई अमानविय ब्यवहार गर्दै उठाएको छ। कहिले मन्त्रीलाई प्रश्न सोधेको भन्दै कार्यक्रम बन्द गरेको छ। यसले के सन्देश जान्छ? सरकार कुन बाटो हिड्दैछ?”
कोइरालाले नेपाली कांग्रेस पार्टी अब तदर्थबादबाट चल्नै नसक्ने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बिगतमा पार्टीले कहाँ गल्ती गर्यो र जनताले यती ठूलो सजाय दिए भनेर समिक्षा गर्न जरुरी रहेको बताए।
कार्यक्रममा पुर्व आमन्त्रित केन्द्रीय सदस्य केशव सिंह, पूर्व सांसद शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरू- डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले, कांग्रेस ईलामका सभापती हिमालय कर्माचार्य, बर्दियाका सभापती संजय गौतम, बाँकेकी सभापती किरण कोइराला लगायतले आफ्नो मन्तब्य राखेका थिए।