arrow

साउनको पहिलो सोमबार : शिवालयमा जल चढाउनेको घुइँचो

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
sivalaya.JPG

भद्रपुर । आज साउनको पहिलो सोमबारका दिन पशुपतिनाथमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ । साथै पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो ।

साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए ।

विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयहरूमा भेला भएका छन् ।

साथै सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ ।

बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झैँ साउन महीनाको पहिलो सोमबार परेकाले हजारौँ हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पिण्डेश्वर शिवालयमा चढाइरहेका छन् ।

त्यस्तै काँबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पिण्डेश्वर शिवालयमा ल्याई चढाउने गरेको पाइएको छ ।

उक्त शिवालयमा जलार्पणका लागि आउने हजारौँ स्थानीयवासी तथा चतरा बराहक्षेत्रबाट जल लिएर आउने बोलबम भक्तजनको सुविधाका लागि स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ