काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस साउन १५ गते देशभर गर्ने विरोध सरकारलाई चेतावनीका लागि भएको बताएका छन् । आफु निकट महिला संघको दुई दिने भेलाको समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकारले कांग्रेसको चेतावनीले सच्चिएन र निरंकुशताको बाटोमा अगाडि बढ्न खोजे कांग्रेस आन्दोलनमा होमिने बताए । उनले भने–‘सरकार निरकुशताको बाटोमा हिड्न थालेको छ । निषेधित क्षेत्रका नाममा जथाभावी तारबार लगाउन थालेका छ । जथाभावी कर असुल्न थालेको छ । जथाभावी मंहगी बढाउन लागेको छ । सरकार यी विषयमा सच्चिएन भने आन्दोन गर्नुको विकल्प छैन् ।’
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस एजेण्डा विहिन भएको टिप्पणी प्रति पौडेलले जनताका एजेण्डा नै कांग्रेसका एजेण्डा भएको बताए । उनले भने–‘क्वालिटीको चिकित्सा शिक्षा, गरिब जनताको छोराछोरीले पढ्न सक्ने चिकित्सा शिक्षाको माग डा गोविन्द केसीले उठाएका छन् । त्यो जनताको एजेण्डा हो । त्यो कांग्रेसको पनि एजेडा हो । मंहगीको विरोधमा आम नागरिक देखिएका छन् । मंहगी पनि कांग्रेसको एजेण्डा हो ।’
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री जनताको पक्षमा काम गर्ने भन्दा प्रतिपक्षलाई आरोप लगाउने हिड्न थालेको टिप्पणी गरे । उनले भने–‘प्रधानमन्त्रीले प्रतिपक्षलाई आरोप लगाउने होइन, जनताप्रति जवाफदेही हुने हो । उनले बर्तमान सरकार निरकुश, एकलौटी र पक्षपाती भएको टिप्पणी गर्दे अहिले कर्मचारी नगारिक समाज सवै सरकारको विरोधमा रहेको बताए । पौडेलले सरकारले जनताको विरोधको आवाजलाई बल प्रयोग गर्ने तर्फ लागेकाले लोकतन्त्रका लागि कांग्रेसले सरकारलाई सचेत गराउन सुरु गरेको स्पष्ट पारे ।
वरिष्ठ नेता पौडेलले नेपाल महिला संघको नेतृत्व प्रति असंतुष्टी जनाउदै महिला संघको नेतृत्वको काम सन्तोषजनक नभएको बताए । उनले भने– ‘अहिले महिला संघ एकातिर महिला अर्कै तिर भएको छ । त्यही भएकाले यसरी देशभरका महिला दिदि बहिनी भेला हुनुभएको हो । अब यस्ता भेलालाई गाँउ गाँउ सम्म लैजानुस् ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले देशमा तीन तहको निर्वाचन सम्पन्न भएर राज्यका संरचना बनेको तर ती राज्यका संरचनामा कांग्रेसको संरचना बन्न नसकेका कारण कांग्रेस कमजोर भएको बताए । उनले राज्यका सवै जसो संरचनामा कम्युनिष्टहरुले कब्जा जमाएको अवस्थामा कांग्रेसले आफ्नो संगठनको संरचना बनाउन आवश्यक रहेको बताए । उनले भदौमा नेपाली कांग्रेसको महासमितिको बैठकले विधान संसोधन गरेपछि सवै संरचना नेपाली कांग्रेस विधान बमोजिम गठन गर्ने स्पष्ट पारे । उनले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमा हुने पनि स्पष्ट पारे ।
नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले गरेको दुई दिने भेला १३ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । भेलाले कानूनमन्त्रीले पदिय आचरण विपरित बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न जाने नेपाली चेलीहरुलाई अपमान गरेको भन्दै मन्त्रीको बर्खास्तीको माग गरेको छ । साथै महिला दिदिबहिनीहरुको उत्थान र समाज सुधारक अग्रज महिला योगमाया न्यौपानेलाई तत्काल राष्ट्रिय बिभूती घोषणा गर्न नेपाल महिला संघले माग गरेको छ ।