सरकार डा केसीको मागमा सहमत, ९ गते विहान टुङगो लाग्ने
प्रकाशित २०७५ साउन ८ मंगलबार
526
Shares
काठमाडौं । मंगलबार दिनभर भएको अनौपचारिक छलफल पछि साँझ डा गोविन्द केसी र सरकारी वार्ता टोलीबीच भएको भेटवार्ता सकारात्मक भएको छ। साँझ ६ बजे शिक्षा मन्त्रालयमा भएको भेटवार्तामा सरकार केहि लचक देखिएको हो।
डा केसीले उठाएको मागमा सहमतिको पत्र सार्वजनिक नभएपनि वार्ता सकारात्मक रुपमा टुङगिने छाँट देखिएको छ। वार्ताको सकारात्मक सन्देश प्रवाहित गर्न दुवै पक्षले एक सहमतिपत्र साार्वजनिक गरेका छन्। यसले पनि वार्ता सकारात्मक बाटोमा रहेको देखिएको छ।
केसी र सरकारी वार्ता टोलीले साँझ जारी गरेको विज्ञप्तिमा डा गोविन्द केसीले उठाएका मध्ये अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै सहमति हुन नसकेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ– भोली बिहान ९ बजे पुनः ती विषयमा छलफल गरेर सहमति जुटाइने निर्णय गरेको छ । विधेयकका अधिकांश बुँदामा सहमति जुटे पनि मुख्य बुँदामा भने अझै सहमति हुन नसकेपछि बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने विज्ञप्तिमार्फत जनाइएको हो ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।
यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि थिए ।
डा केसी २५ दिनदेखि आमरण अनशन बस्दा पनि सरकारले माग सुनुवाई नगर्दा केपी ओली सरकारमाथि चौतर्फी दवाव परेको छ।
हिजोसम्म वार्ताका लागि अनिच्छुक देखिएको सरकारले मंगलवार बिहानबाट अचानक पहलकदमी लिएको थियो। सरकार केसीको प्रकरणमा रक्षात्मक बन्दै गएपछि सहमतितर्फ उन्मुख भएको देखिएको छ।