arrow

प्रधानन्यायधीको संसदीय सुनुवाई रोकिनु शंकास्पदः रामचन्द्र पौडेल

सभामुख र उपसभामुले पार्टी छोडेको भए कानुन बमोजिम सांसद हुन पाउनुहुन्न

logo
प्रकाशित २०७५ साउन १२ शनिबार
Ramchandra_Paudel1.jpg.jpeg

नवलपरासी। नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रयाटिक लयर्स एशोसियसन डीलएको महाधिवेशन उद्घाटन समारोहमा काँग्रेसका नेताहरुले सम्वोधन गरेका छन्। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको सम्वोधनको सार संक्षेपः

मैले हरेक पटक जस्तो भन्दै आएको छु, रातो झण्डा ओढेपछि सवै खत माफ गर्ने खतरनाक प्रवृतिले बढवा पाएको छ। प्रशासन, न्यायालय जताततै पार्टीको प्रभाव बढाउन थालिएको छ। अहिले सरकार जुन ढंगबाट अगाडि बढिरहेको छ, त्यसले लोकतन्त्रमाथि खतराको बादल मडारिन थालेको छ। संविधानमा स्पष्ट रुपमा प्रतिनीधिसभा र प्रदेशसभाका सभामुख र उपसभामुख एउटै पार्टीको नहुने व्यवस्था छ। तर अहिले कु तर्क गर्न थालिएको छ । संविधानका अपव्यख्या गर्न थालिएको छ। सभामुख उपसभामुख दुवैले पार्टीबाट राजीनामा दिइसकेको भन्ने। उहाँहरुले राजीनामा दिइसकेको हो भने नेपालको राजनीतिक दल सम्बन्धी कानुनले उहाँहरुलाई प्रतिनीधिसभा सदस्य बन्न दिदैन। सभामुख उपसभामुख पार्टीका होइनन भने उहाँहरु सांसद पनि होइन। राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था अनुसार जुन पार्टीबाट चुनाव जित्छ त्यो पार्टी छोडेसंगै सांसद पद पनि जाने व्यवस्था छ। त्यसोभएको हुनले उहाँले कि सभामुख उपसभामुख मध्ये एक जना छोड्नुपर्‍यो, होइन पार्टी छोडेको हो भने चाँही सांसदबाट हट्न पर्‍यो । 

अर्को सरकारले प्रधानन्यायधीशको संसदीय सुनुवाई शंकास्पद ढंगले रोकेको छ । संसदीय सुनुवाई सकेर तत्काल निर्णय दिने भन्दा पनि दुईतिहाईको दुरुपयोग गर्ने ढंगबाट प्रधानन्यायधीशको संसदीय सुनुवाई रोकेको छ। हामीलाई शंका लाग्न थालेको छ। कतै सत्ताको केहि बार्गेनिङका लागि संसदको दुईतिहाई संख्याको दुरुपयोग गर्ने ढंगबाट त संसदीय सुनुवाई रोकिएको होइन भन्नेमा। 

सरकारले मुलुकलाई केन्द्रीकरण गर्दैछ । यो भनेको संघीयता र लोकतन्त्रको विरोधी काम हो । सरकारका हरेक निर्णयले मुलुकलाई केन्द्रीयकरण गरेको छ। अझ सवै मुलुकको शक्ती प्रधानमन्त्रीको हातमा मात्र पार्ने प्रक्रिया सुरु भएको छ । एक जना मान्छेको हातमा सिंगो मुलुकको शक्ती पुग्नु भनेको लोकतन्त्रका लागि खतरा हो । यो भनेको मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खेल हो । 

राजनीतिका दुई मोडेल मध्ये बेलायती मोडेल कि अमेरिकी मोडेल भन्ने बहस हुन जरुरी छ। नेपाली काँग्रेस बेलायती मोडेलको पक्षमा हो । शासन पद्दती पनि बेलायतको जस्तो संसदीय मोडेल हो । सामाजिक पद्दती पनि बेलायतको जस्तो हुनुपर्छ । बेलायतमा शिक्षा स्वास्थ्य जस्ता विषयमा राज्यको जिम्मेवारीमा हुन्छ । तर अमेरिकामा त्यो छैन् । अमेरिकाको मोडेलमा हामीले नीति बनाउने होइन बेलायती मोडेलको नीति बनाउन नेपालमा जरुरी देखिएको छ । यसो भएकाले नेपालको अहिले संविधानको मोडेल भनेको बेलायतको जस्तो शासन पद्दती हो । हामीले अहिले संविधान उल्लेख भएको मौलिक हकका विषयहरुलाई कार्यान्वयन गर्ने र संविधानको व्यवस्थालाई प्रयोग गर्न जरुरी छ। अहिले संविधानसभाबाट संविधान जारी भएपछि ७० वर्षदेखिको नेपाली जनताको राजनीति मुद्दाको टुंगो लागेको छ। अब हामीले अहिले यसैलाई प्रयोग गर्नुपर्छ । अरु कुनै राजनीतिक व्यवस्थाको परिकल्पना गर्न आवश्यक छैन् । 

काँग्रेसले साउन १५ गते गर्न लागेको विरोध खबरदारीका लागि मात्र हो । सरकारले बेथिती, बिसंगति बढाउन थालेपछि सत्तामा मनपरि गर्न थालेपछि हो। काँग्रेसले आन्दोलनको सुरुवात गरेको होइन । सत्ता बाहिर भएर काँग्रेसले यति छिटो आन्दोलन सुरु गर्‍यो भन्ने नठान्दा हुन्छ। विपक्षी दल भएकाले काँग्रेसले सरकारले थालेका विकृति र सिंगतिका विरुद्धमा खबरदारी गरेको हो । 

साथीहरुले पार्टी एकताबद्ध बनाउने विषयमा आफ्नो धारणा राख्नुभएको छ। म त सधै एकताको पक्षमा हो । पार्टीमा एकता आवश्यक छ। एकता यथार्थमा आधारित हुनुपर्‍यो । पार्टीमा न्याय निष्पक्षता र पारदर्शी मुल्याङकन हुनुपर्‍यो । अनि काँग्रेस आफैमा सुधारिनु पर्‍यो भन्ने मेरो विचार हो । कम्युनिष्टसँग लड्नका लागि काँग्रेस आफै सुधारिनु जरुरी छ । कम्युनिष्ट असफल भएर आफु सफल हुन्छु भनेर सोच्ने भन्दापनि काँग्रेस आफै बलियो बन्न जरुरी छ । हामी सुधारिएर अगाडि बढेनौ भने र कम्युनिष्ट असफल भए भनेपनि अरु कुनै शक्ती आउन सक्दछन् । 

संविधानमा नेपाली काँग्रेसको सिद्धान्तको जीत भएको छ  । संसदीय व्यवस्था र प्रजातान्त्रीक समाजवाद नेपाली काँग्रेसको सिद्धान्त हो । त्यो संविधानसभाले जारी गरेको संविधानमा उल्लेखित छ। अहिलेको शासन पद्दती पनि यही हो । संविधानको घोषणापछि हाम्रो सिद्धान्तले जित्यो । तर त्यो पछिको चुनावमा हाम्रो संगठन हार्‍यो । हाम्रो सिद्धान्त जितेको र  हाम्रो संगठन हारेको अवस्थामा कमजोरी के भयो । हामीले समिक्षा गर्नुपर्छ । सिद्धान्त जितेर संगठन हार्दा हामी नेता कार्यकर्ता सिद्धान्त अनुरुप चल्न नसकेको हो कि भन्ने अवस्था छ । संसदीय व्यवस्था र प्रजातान्त्रीक समाजवादका केहि चरित्र छन् । ती चरित्रलाई हामीले अंगिकार गरेर अगाडि बढ्न सकेनौ कि? 

अब अतित भन्दा भविष्यका बारेमा सोच्ने हो । भविष्य सोच्नका लागि हामीले राजनीतिलाई सम्मानित बनाउन लाग्न जरुरी छ । राजनीतिलाई सम्मानित बनाउने अभियान सुरु गर्नुपर्छ । राजनीतिमा धेरै विकृति र विसंगतिहरु देखा परेका छन् । वीपी कोइरालाले भने जस्तै पार्टीलाई सुकिला मुकिलाहरुले घेर्न थालेका छन्। यीनीहरुबाट पार्टीलाई बचाउनु आजको आवश्यकता भएको छ । राजनीतिमा पैसा हावी भएको छ । योगदानको कदर हुन छोडेको छ । राजनीतिमा योगदानको कदर नहुने पैसाको हावी हुने हुँदा लोकतन्त्र पनि घायल हुन्छ । त्यसो भएकाले अब राजनीतिलाई सम्मानित बनाउने अभियानलाई काँग्रेसले सुरु गर्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ