काठमाडौं । कर्मचारीमा सर्टिफिकेट आतंक पहिलेदेखिकै समस्या हो । सरकारी जागिर खानका लागि भन्दै पहिले पहिले स्कुलको सर्टिफिकेटको दुरुपयोग हुने गर्दथ्यो । त्यो अहिले पनि छ ।
२–४ कक्षा पढेर छोडेकालाई पनि ९ कक्षासम्मको सर्टिफिकेट बनाएर स्कुलले दिने चलन पहिलेदेखि कै हो । अहिलेको एसईई आइसकेपछि अहिले ८ कक्षाको जाँच दिएपछि अर्को वर्ष सीधै एसईईको जाँच पनि दिन पाइने रहेछ ।
शिक्षामा घोटाला यसरी हुँदै आएको छ । सर्टिफिकेट मात्र चाहिने वालाहरु धमाधम अहिले यस्तो धन्धामा छन् । मुलुकमा यतिधेरै कर्मचारी छन् । तर कसको सर्टिफिकेट सक्कली र कसको नक्कली भन्ने छुट्टाउने निकाय हुँदाहुँदै विवाद चरम छ ।
बढुवा खानका लागि किनेर नक्कली सर्टिफिकेट बनाउने उत्तिकै छन् । त्यस्ता कर्मचारीको प्रमोशन रोकिएको पनि छ । प्रहरीदेखि सेनासम्म पनि नक्कली सर्टिफिकेटको चर्चा भइरहन्छ ।
कुनै निकाय छैन जहाँ नक्कली सर्टिफिकेटले दुःख नदिएको होस् । यही नक्कलीको बिगबिगीले सताइएको छ मुलुक । कतिपय निजी अस्पतालमा नक्कली डाक्टर नै छन् । हरेक चिजमा नक्कली ।
अहिले सर्टिफिकेट आतंक नै छ । अझ नेपालका उच्च निकायमा उच्च पदस्थ अधिकारीको नै सर्टिफिकेट आतंक भएपछि स्थिति कत्तिको गम्भीर होला भन्ने कल्पना गर्न पनि सकिन्न ।
प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा अहिले सर्टिफिकेटकै कमजोरी देखाइएको छ । प्रधानन्यायाधीशका लागि तयार रहेका कामु प्रधानन्यायाधीश दीपकराज जोशी त्यही मुद्दामा अल्झे ।
यसअघि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली पनि त्यस्तै मुद्दामा अल्झे । उनलाई यसरी फसाइयो मानौं उनी प्रन्या हुने पदसम्म पुग्ने नै थिएनन् ।
प्रायः मुद्दा न्यायमा एसएलसी (अहिले एसईई) कै सर्टिफिकेटको पर्ने गरेको छ । नागरिकताको त्यही समस्या छ । तिथिमिति घटबढ पनि छ ।
अन्य क्षेत्रमा पनि छन् । तिथि घटबढ गर्दा बढी समय जागिर खान प्रावधानले हुन गएको पनि बुझ्न सकिन्छ । उच्च तहमा पुग्नुअघि नै निवृत्त हुने सम्भावनाले पनि तिथिमिति घटबढ गराइन्छ ।
जेहोस् सर्टिफिकेट र नागरिकताको आतंक बढ्दो छ । लोभ, लालच र मोहले गर्दा अहिले भ्रष्टिकरण बढ्दो छ । उच्चतहमा पुग्दामात्र सार्वजनिक गर्नुपर्ने भएकाले थाहा हुने र अन्यथा सम्बन्धित निकाय बाहेक बाहिर थाहा नहुने भएकाले पनि यो विषय त्यत्तिकै गुपचुप हुँदै आएको छ ।
समस्या आएपछि समाधान गरौं
यो विषय समस्याको रुपमा देखिएको छ । राज्यलाई बेइमानी गर्नेहरु दिनप्रतिदिन बढ्दो क्रममा रहेका छन् ।
राजनीतिक रुपले सुरक्षित हुनसाथ अझ बढी सुरक्षित हुने अवस्था पनि देखिँदो छ । यो राज्यको ठूलो समस्या भएको स्पष्ट छ ।
लायकहरु रिंग बाहिर बसिरहनु पर्ने र नालायकहरु सरकारी ढुकुटी रित्याउन लागिपर्ने भएकाले गर्दा यो विषयलाई रोक्नु भएन । अब छानबिन गर्नुपर्यो ।
हरेक क्षेत्रमा देखिएको सर्टिफिकेट आतंकलाई तत्काल बन्न गर्नुपर्ने जरुरी छ । यसको थप अनुसन्धान गरी कानुनी उपचार खोजौं । नागरिकता हरायो भन्दै पुनः नागरिकता बनाउने र आफू सुहाउँदो मिति राख्नेहरु पनि छन् । त्यस्तालाई छानिछानी कार्वाही गरौं । यो आतंक मुलुकको समृद्ध नेपाल र समृद्धि नेपालीको लागि अभिषाप नै हो ।