प्रस्तावित प्रधानन्यायाधीशको राजीनामा मागे प्रधानमन्त्रीले !
प्रकाशित २०७५ साउन १५ मंगलबार
147
Shares
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको सुनुवाईबारे विभिन्न चर्चाहरु भईरहेका बेला फेरि अर्को विषयले प्रवेश पाएको छ ।
पटक–पटक सर्दै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार डाकिएको छ । यद्यपि, संसदीय सुनुवाई समितिको निर्णय आउनु अघि नै प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई राजीनामा गर्न लगाउने सरकारी तयारी सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास पात्रमार्फत राजीनामाका लागि दबाब दिएको कुरा बाहिर आएको छ । तर, त्यो कुरा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको निजी सचिवालय मान्न तयार छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले त्यस्तो कुरा आफुलाई थाहा नभएको बताए । उनले भने, ‘यो प्रधानमन्त्रीसँग जोडिएको विषय होईन । संसदीय सुनुवाई समितिको अधिकार क्षेत्रको कुरा हो । यसमा संसदीय सुनुवाई समिति अलावा कसैको कुरा लागू हुँदैन ।’ समितिको निर्णय आउनु अघि कुनै नयाँ कुरा सुनिए के भन्ने ? जवाफमा उनले भने, ‘संसदीय सुनुवाई समितिको बैठक डाकिएको छ । उसको निर्णय नआई कसरी नयाँ कुरा सुन्न पाईएला र ?’
प्रधानमन्त्रीका अर्का प्रेस सहयोगि चेतन अधिकारीले समेत त्यही कुरा बोले । उनले पनि यो विषय संसदीय सुनुवाई समितिसँग सम्बन्धित छ, भने । संसदीय सुनुवाई विशेष समितिको सभापतित्व गरिरहेका राजपा सांसद लक्ष्मणलाल कर्णले समितिको बैठक बस्नेबारे आफुलाई थाहा भएको र कसले के गर्दैछ अथवा के भन्दैछ भन्नेबारे थाहा नभएको बताए । उनले भने, ‘बाटोमा कसले के कुरा भन्छ ? त्यो सबैको जवाफ दिनै पर्छ र ?’
संवैधानिक परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कामु प्रधानन्यायाधिश जोशीलाई विवाद धेरै भएको भन्दै सहज निकासका लागि राजिनामा दिएर बाटो खोल्न भनेको स्रोतको दावी छ ।