arrow

' अधिनायकवादी ' सरकारलाई काँग्रेसले गर्‍यो कपिलवस्तुबाट खवरदारी

logo
मणिप्रसाद गैरे,
प्रकाशित २०७५ साउन १५ मंगलबार
kapilvastu-congress-rally.jpg

कपिलवस्तु । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार कपिलवस्तुको सदरमुकाम तौलिहवामा सरकार विरुद्ध प्रदर्शन गरेको छ। सरकार अधिनायकबादी बाटोमा अग्रसर भएको भन्दै त्यसलाई खबरदारी गर्न जिल्लाका विभिन्न स्थानहरुवाट नेता तथा कार्यकर्ता आएका थिए।

सरकार विरुद्ध प्ले कार्ड तथा व्यानर सहित आएका काँग्रेस कार्यकर्ताहरु सदरमकामुकाम तौलिहवा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडी कोण सभामा आएका थिए।

कोण सभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद अतहर कमालले सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित हिंडेको बताए। संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन, संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेको लगायतका गतिविधिप्रति रुष्ट बन्दै काँग्रेसले प्रदर्शन गरिएको कमालले बताए । सरकारले नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेकोप्रति काँग्रेसको आपत्ती रहेको कमालले बताए । 

सांसद अभिषेक प्रताप शाहले बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको निम्ति आन्दोलन गर्नु परेको बताए। साथै कपिलवस्तु जिल्लामा प्रहरी प्रशासनले कार्यकर्ताहरुलाई धरपकड गर्ने, ज्यादती गर्ने र चोरी धन्दा गर्नेलाई वढवा दिने जस्ता काम भइरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पनि प्रर्दशन र आन्दोलन गर्ने शाहले बताए ।  

सो अवसरमा पार्टी सभापति सुरेन्द्रराज आर्चायले सरकार नेकपाको दुई तिहाइमा छ भन्दैमा गलत काम हुन नदिन आन्दोदनमा उत्रन वाध्य भएको बताए ।

पुर्व  पार्टी सभापति सुधाकर पाण्डेय, नेविसंघ सहमहामन्त्री प्रकाश घिमिरे लगायतले सरकारका गलत निर्णयको बारेमा वोलेका थिए। प्रदर्शनमा नेपाली काँग्रेस कपिलवस्तु सम्वद्ध नेता कार्यकता तथा भातृ संस्था नेविसंघ, तरुण दल, महिला संघ लगायतका हजारौ कार्यकर्ता उत्रिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ