arrow

किन निरंकुश हुँदैछन् ‘जननेता’ ओली ? 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
kp-oli-final-multi-photos.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘जननेता’ का रुपमा चिनिन्छ । उनले जनताको मन जितेका छन् ।

तर तिनै ओली अहिले निरंकुश बन्दै गएका छन् । उनको निरंकुशता जनताका प्रत्यक्ष सरोकारका विषयमा मात्र हैन उनको पार्टीभित्रै समेत आलोचनाको विषय बन्दै गएको छ । 

दोस्रो पटक प्रधानमन्त्री बन्नु । सबैभन्दा ठूलो पार्टीको अध्यक्ष बन्नु । अल्पमतको नभइ दुई तिहाइको समर्थनको सरकारको नेतृत्व सम्हाल्नु । अनि पाँच वर्षसम्म सरकार हाँक्ने म्यान्डेट पाएको पार्टीको एकल बहुमत । 

ओलीले राम्रा काम गर्ने हो भने उनी ‘जननेता’ बन्नेमा अझै पनि दुई मत छैन । तर यही गतिले अगाडि बढ्दै जाने हो भने उनको अवस्था मरिचमान सिंह श्रेष्ठको भन्दा पनि अझै तल झर्ने पुराना कम्युनिष्ट नेताहरुले नै बताइरहेका छन् । 

वरिष्ठ कम्युनिष्ट नेताहरु मोहन वैद्य, नारायणमान विजुक्छे, चित्रबहादुर केसीले नै ओलीको अधोगतिको भविष्य देखेका हुन् । उनीहरु कसैलाई नेकपाको मिलनमा एकताको गन्ध लागेकै छैन । अवसरवादीहरुको भीडका रुपमा उनीहरु चित्रित गर्छन् । ओलीको राष्ट्रवादलाई उनीहरु ढोंगीको संज्ञा दिन्छन् ।  

अलोकप्रियबाट ‘जननेता’  को पगरी 
केपी ओली २०७२ सालमा प्रधानमन्त्री हुनुभन्दा अगाडि खासै लाइमलाइटमा थिएनन् । उनलाई पार्टीभित्रको साँघुरो घेरामा मात्र चर्चित भनिन्थ्यो । उनी नेपाली राजनीतिको कुनै पनि मुख्य घटनाको अग्रपंक्तिमा थिएनन्। 

२०६२–०६३ को दोस्रो जनआन्दोलनको समेत उनी विरोधमै थिए। काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको उक्त आन्दोलनमा तत्कालीन नेकपा एमालेका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमहरु अग्रपंक्तिमै रहेका बेलामा ओली ‘बयलगाडी चढेर अमेरिका पुगिँदैन’ भनी व्यङ्ग्य कस्दै थिए । 

निरन्तर ओलीले नेपाली राजनीतिलाई अलमलमा ल्याउँदै आए पनि ०७२ असोज ३ गतेको ऐतिहासिक जनताले लेखेको नयाँ संविधान सार्वजनिक गर्दाका साक्षी भए । तत्कालीन एमालेका अध्यक्ष नै थिए । 

त्यसपछि उनी प्रधानमन्त्री भए । तर संविधान संशोधनका लागि मधेसी नेताहरुले आन्दोलन गरिरहे पनि उनले मानेनन् । ओली स्वार्थी बन्दै गए । उनी सरकारमा भएर पनि अलोकप्रिय बन्दै गए । 

ओलीले भूकम्पको राजनीति गरे । धरहराको आश्वासनदेखि लिएर धेरै प्रतिवद्धता गरे । त्रिपाल नपाएर ज्यान गुमाएका भूकम्प पीडित बढे पनि उनले त्यता ध्यान दिएनन् धरहरा र रानीपोखरी प्राथमिकतामा राखे । तर बनाएनन् । 

आलोचित भइरहे पनि उनले कताकताबाट भारतको चर्को विरोध गरे । नाकाबन्दीको मारमा रहेका नेपालीले एकाएक ओलीको त्यो देखावटी राष्ट्रभक्ति मन पराए । 

ग्याँसमा खाना पकाउने बानी परेका उनीहरु एकाएक दाउरामा झरे पनि ओलीले घुँडा नटेकेको भन्दै उनकै पक्षमा उत्रियो जनलहर । त्यसको प्रभाव ०७४ सालमा भएका तीनै तहको निर्वाचनमा देखियो । ओलीको एक्लो बोली नै एमालेलाई जिताउन काफी भयो । उनलाई एमालेलेमात्र होइन वितृष्णा भोगेका माओवादी, काँग्रेस, राप्रपा लगायतका कार्यकर्ता एवं सर्वसाधारणले पनि भोट हाले । 

एमालेको एकाएक जनलहर आयो । अन्तिम चरणको निर्वाचनमा त एमाले र माओवादी मिल्दा झनै जनलहरले ओलीको साथ दियो । जनदवावबीच नै पार्टी एकता भयो । ओली चुलिए । बोलीले लठ्ठ पार्ने कला भएका ओलीले ‘जननेता’ को पगरी गुथे । 

नेपालमा रेल कुँदाउने, आफ्नै पानीजहाज चलाउनेजस्ता महत्वाकांक्षी योजना सुनाउँदा झनै चुलिए ओली । किनकि हामी सपनामा बढी रमाउँछौं । 

त्यसपछि सुरु भयो निरंकुशता
मानिस खस्ने शिखरमा पुगेरै हो । भयो पनि त्यस्तै । ओली छिट्टै शिखरमा पुगे । उनले राजनीति गरेको दशकौं भए पनि अग्रणि भूमिका ढिलो निभाए । तर बहुमतप्राप्त भएपछि जो पनि मात्छ भन्छन् । ओलीले पनि त्यही रुप देखाए । 

विपक्षीलाई देखिनसहने अनि बोलीमा कुनै अंकुश नलगाउने । यसले नै ओलीलाई निरंकुश बन्न मद्धत पुग्यो । गत वर्षको फागुन ३ गते सरकारको नेतृत्व सम्हालेपछि ओलीले आफ्नो दम्भलाई फराकिलो पारे । 

उनी जननेता । जननेताले जनताको काम गर्छ । जनताका साना साना समस्यामा पनि ख्याल गर्छ । तर एकाएक उनले जनताका मागलाई सम्वोधन गर्नुभन्दा पनि ख्यालठट्टामा उडाउन थाले । 

ओलीले सडकका खाल्डा पुर्नुको सट्टा ‘रेल र पानीजहाज ल्याउन खोज्ने मान्छेलाई यस्ता खाल्डाले रोक्दैन’ भन्न थाले । दुर्भाग्य । अत्यावश्यकीय चिजमा ख्यालठट्टा गरेको जनताले फिटिक्कै मन परेको छैन । महंगीलगायतका विकृतिको विभिन्न ठाउँमा विरोध पनि भयो । सडक पुनःनिर्माणमा देखाएको नैराश्यता पीडित जनताको मनमा गाढियो । 

उनले पछिल्लो समय बाटो छिट्टो बनाउनु भनेर दिएको निर्देशन केवल औपचारिकता र वाध्यतावश भनिएको निर्देशन बाहेक केही बन्न सकेन । उनले दिएको समय पनि घर्केको छ । 

जनतालाई ‘भगवान’ को रुप सम्झिने नेताले पाँच वर्षको सरकार चलाउने म्यान्डेट पाएपछि जनतालाई सम्मान गर्नुपर्छ भन्ने ठान्दै ठानेनन् । विवशतावश जनता हिले बाटो हिंड्न वाध्य छन् । ओली रेल र पानीजहाज भन्दै चिल्लो कारमा गुडिरहेका छन् । 

विरोध देख्न नसक्ने बानी 
ओलीले आफू विरुद्ध बोलेको सहन सक्दैनन् । आलोचना सुन्न सक्दैनन् । कसैले विरोध गर्यो भने त्यसको खोइरो खन्न उनी तयार हुन्छन् । पत्रपत्रिकामा पनि कुनै विरोधको गन्ध आयो भने त्यसको खण्डन गर्दै आफ्नो पक्षमा सकारात्मक लेख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिन्छन् । आकर्षक लोककल्याणकारी विज्ञापन दिने आश्वासन दिएरै किन नहोस् उनी आफूतिर आकर्षित गर्न भरमग्दूर प्रयासमा लाग्छन् । 

विपक्षी दलले आफ्नो विरोध गर्छन् भनेरै निषेक्षित क्षेत्रलाई फराकिलो पारे । सिंहदरबारको नजिकको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाए । त्यही क्षेत्रमा भाषण गरेर आफू सिंहदरबार पुगेको बिर्से । 

उनले भन्दै गए –अब आन्दोलन गर्ने समय सकियो । विकास र समृद्धिका लागि लाग्ने बेला आयो भने । विकासका लागि विपक्षीलाई साथमा लिएर अगाडि बढ्नु पर्छ भन्ने नै उनले बिर्सिए । उनले ठाने विरोधीलाई त ठेगानमा पो लगाउनु पर्छ । पपुलर भोटमा अगाडि रहेको काँग्रेसका कार्यकर्ता नै नभएजसरी दुई सयमा सीमित भएकाले भरिभराउ देखिन माइतीघर मण्डला प्यारो भएको बताए । 

 न्यायालयमा हस्तक्षेप 
ओलीले प्रधानमन्त्री भएपछि न्यायालयमा हस्तक्षेप गरेका छन् । विवादित प्रधानन्यायाधीश गोपाल पराजुलीलाई राजीनामा दिन उनैले दवाव दिए । उनकै प्रभावमा परेर न्यायपरिषदले पराजुलीलाई हटाएको चर्चा त्यतिबेलै भएको थियो । 

न्यायपालिकाको विपक्षमा गएर अपराधी जीवन जेलमा बिताइरहेका नेकपामा नेता बालकृष्ण ढुंगेललाई जेलबाट निकालेर ओलीलै अर्को हस्तक्षेपकारी भूमिका खेले । 

प्रधानन्यायाधीश बन्नका लागि प्रस्ताव गरेर पनि ओलीले दीपकराज जोशीलाई राजीनामा दिन दबाब दिए । उनल खुलेआम कार्यक्रममै राजीनामा मागे । जोशीलाई अपमान नै गर्नु थियो भने सिफारिस नै नगरी वैकल्पिक व्यवस्था मिलाउन सकिन्थ्यो । जोशीलाई उनले चैतदेखि कामुमै काम गराईरहेकै थिए । 

पार्टीभित्रै निरंकुश
ओलीले अब जनता र विपक्षी दलको मात्र हैन पार्टीको पनि आलोचना खेप्न थालेका छन् । प्राडा गोविन्द केसीलाई आफ्नो सबैभन्दा ठूलो दुस्मन देख्ने ओलीले गोविन्द केसी सामु झुक्नु परेको कुरा बिर्सेका छैनन् । 

दुई तिहाइको सरकारले जे चाह्यो त्यही गर्न सक्छ भन्ने दम्भ पालेर बसेका ओलीलाई नागरिक समाजबाट आएको दबाबले गर्दा घुँडा टेक्न वाध्य पार्यो । उनले झुक्नै पर्यो । 

तर त्यसको रीस उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई परेको छ । पार्टी हाइकमाण्डको इच्छा विपरीत गोविन्द केसीलाई साथ दिएको भन्दै नारायणकाजीले गाली खानुपर्यो । 

नैतिकताका आधारमा नारायणकाजीले प्रवक्ताको पदबाट राजीनामा गरे । यसले गर्दा ओलीको निरंकुश पार्टीभित्र पनि देखिएको स्पष्ट छ । यसअघि पार्टी कार्यकर्तालाई पार्टी मुख्यालय धुम्बाराहीमा निर्देशन दिने क्रममा पार्टी विपरीत नबोल्न र विपक्षीलाई ठेगान लगाउन मैदानमा उत्रनसमेत निर्देशन दिएका छन् । 

यसबाट भने कार्यकर्ता पनि रुष्ट हुन थालेका छन् । बोल्नै नदिने नेतालाई कसले पो हो मनपराउने ? 

जथाभावी बोलीले गिर्दो साख
ओलीले जथाभावी बढी बोले । पहिलो पटक प्रधानमन्त्री हुँदा उनी अनुभवी थिएनन् । बहुमतको सरकार थिएन । तसर्थ त्यतिबेला ओलीले जे भने पनि र बोले पनि सुरुसुरुमा यस्तै हो भन्नेहरु बढी नै थिए । 

अहिले ओली अनुभवी छन् । दुईतिहाइको समर्थन रहेको सरकार छ । उनी ढुक्क छन् । तर काम गर्नुपर्ने बेलामा जथाभावी बोलेको गुनासो बालुवाटारभित्रै पनि चल्ने गरेको स्रोत बताउँछ । 

ओलीले सपना बढी देखाएको नेकपाकै नेताहरुले स्वीकार्छन् । पाँच महिनामा केही काम पूरा नहोला । तर सुरुआत गर्न सकिन्छ । पूर्ववर्ती सरकारकै पालामा थालिएका योजना र काम मात्र भएका छन् । 

हुने बिरुवाको चिल्लो पात भनेझैं सरकारको काममा चिल्लोपन देखिएको छैन । ओली सरकारले काम गर्ने लक्षण पनि ल्याएको छैन । 

छिमेकी राष्ट्र पनि छैनन् सन्तुष्ट 
ओलीले छिमेकी राष्ट्रहरु भारत र चीनलाई पनि सन्तुष्ट राख्न सकेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग बढी नै भक्तिभाव देखाए पनि उनलाई समग्र भारतले राम्रो नजरले हेर्न सकेको छैन । 

भारतका विश्वासपात्र भनेर चिनिने ओलीले नाकाबन्दीका पालामा ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्ने क्रममा भारतलाई मच्चेर गाली गर्ने बानीले गर्दा विश्वास साँघुरिँदै गएको छ । 

देखावटी रुपमा ओलीको भारतसंग राम्रो सम्बन्ध रहेको देखाइए पनि नेपालप्रति भारतीय नीति नबदलिनु नै ओलीप्रतिको विश्वासमा कमी नै हो । 

चीन पनि ओलीप्रति विश्वस्त छैन । ओली चीन जाने बेलामै निकै अध्ययन र अनुसन्धान गरेको चीनले उल्लेख्य समझदारी गरेन । सम्मान गर्दा पनि कन्जुस्याइँ गर्यो । 

पार्टी एकता गर्नका लागि जुन दवाव चीनले दिएको थियो त्यसयता ओलीले गरेको व्यवहार चीनलाई मन परेन। पहिलो पटक प्रधानमन्त्री हुँदा उनले दिएका आश्वासन पनि पूरा गरेनन् । 

ओलीप्रति चीन विश्वस्त नभएरै पूर्व माओवादीका नेताहरु गएर नै ओली भ्रमणको वातावरण मिलाउनु परेको थियो । ब्यापारको निहुँमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु नेपाल आएर यो सरकारको नाडी समेत छाम्ने काम गरेका थिए । 

भारतसंग चिढिएका बेलामा पेट्रोलियम पदार्थ किन्ने कुरा गर्ने ओलीले पछिल्लो समय असार २२ गते पर्ने चिनियाँ विरोधी नेता दलाई लामाको जन्मोत्सव मनाउन दिनुले पनि चीन थप चिढिएको छ । 

ओलीको निरंकुश बोली र व्यवहारले छिमेकमा नेपालको सम्बन्ध राम्रो हुन सकेन । पार्टीभित्र जुटको भन्दा फुटको राजनीति बढ्दो छ । पुष्ककमल दाहाल प्रचण्ड खेमा त्यत्तिकै रुष्ट छ । निर्णय गर्दा मन्त्रिपरिषदका सदस्यहरुको सल्लाह नलिने बानीले गर्दा मुखै फोरेर मन्त्रीहरुले ओलीको आलोचना गर्न थालेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ