काठमाडौं। गएको फागुन मसान्तमा न्यायपरिषदका कर्मचारी नृपध्वज निरौलाको पत्रले प्रधानन्यायाधिशबाट गोपाल पराजुली हुत्याइएपछि चैत १ देखि कामय मुकायम बनेका दीपकराज जोशीले मुखैमा आएको न्यायपालिकाको सर्वोच्च पदको स्वाद चाख्न नपाउने भए।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोश्रो कार्यकालको सपथ गराए लगत्तै पराजुली धरापमा परेको साँझ जोशीले हतार हतार भोलीपल्टका लागि पेशी तोकेका थिए। ऊ बेला पराजुलीले भनेका थिएः “जुन घरमा अनुशासन छैन, साथी मित्र षडयन्त्रकारी छ, सहयोगीहरु असहयोगी बनिरहेको छ, त्यो घरबाट म भिन्न र स्वतन्त्र बन्नु पर्छ भन्ने चिन्तनबाट स्वेच्छाले यो कदम उठाएको हो”। त्यो बेला उनले यो वाक्यको निशाना सायद जोशीमाथि साँधेका थिए।
कायम मुकायम प्रधानन्यायाधिशको कार्यभार सम्हालेपछि जोशीले पराजुलीतर्फ संकेत गर्दै भनेका थिए ‘अवस्था बुझेर पछाडि हट्न पनि तयार हुनुपर्छ, हठले हुँदैन।’ त्यहीबेला जोशीले अदालत विवादित बनेको, न्यायपालिकाप्रति सडकमा जनताले टिप्पणी गर्न थालेको स्वीकार्दै ‘हाम्रै कारणले यस्तो भएको हो, अब सुधार्ने पनि हामीले हो, अरुलाई दोष लगाउने ठाउँ छैन’ पनि भनेका थिए। तिनै जोशी अहिले अयोग्यताको चार–पाँच बुँदे पगरी गुथाइएर प्रधानन्यायाधिश बन्न अस्वीकृत गरिएका छन्, संसदीय सुनुवाइ विशेष समितिबाट।
समितिबाट नाम अनुमोदन नभएपछि जोशीले भने ‘सुनको भाँडोले संसदीय सुनुवाई समितिमा सत्यको मुख छोपियो।’ पूर्व प्रधानन्यायाधिश पराजुलीले त्यो बेला आफ्नै घरका मान्छेप्रति गरेको टिप्पणी पत्याउने हो भने, जोशीको हकमा पाप धुरीबाट कराएको छ। जोशीको नाम अनुमोदन नहुँदा सबभन्दा खुशी कोही भएको छ भने, त्यो नाम गोपाल पराजुली नै हो। त्यो बेला जोशीले हतार हतार कज लिष्ट नतोकेको भए, सायद परिस्थिति अकै बन्न सक्थ्यो।
जोशीका विकल्पः
१. राजीनामा दिने :
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई तत्कालिन राजा ज्ञानेन्द्रले लगाइदिएको अयोग्यताको बिल्ला भन्दा कम छैन, संसदीय सुनुवाइ समितिले जोशीमाथि लगाइदिएको अयोग्यताको पगरी। त्यसैले सहज बहिर्गमनका लागि उनले राजीनामा दिनु कम जोखिमपूर्ण बन्न सक्छ।
२. हलो अड्काउने :
भावी प्रधानन्यायाधिश प्रस्ताव गर्ने जिम्मा न्यायपरिषदको क्षेत्राधिकारमा हुन्छ। जोशी अब प्रधानन्यायाधिश नबन्ने निश्चित भइसक्यो। तर जोशी न्यायपरिषदको अध्यक्ष छन्। भावी प्रधानन्यायाधिश सिफारिसको बेला उनले खोचे थाप्न सक्नेछन्। तर त्यो बला दुई तिहाईको समर्थन प्राप्त सरकारले सदनमा उनी बिरुद्ध महाअभियोगको प्रस्ताव ल्याएर बाहिर्याउन सक्छ। जोशीले पूर्व प्रधानन्यायधिश पराजुलीलाई झोसेको वाक्य ‘अवस्था बुझेर पछाडि हट्न पनि तयार हुनुपर्छ, हठले हुँदैन’ भनिसकेकोले यो जोखिम उनले आफैंसँग मोल्ने नमोल्ने विचार गर्लान्।
३. जागिर खाने :
सर्वोच्चको न्यायाधिश बनिरहनका लागि ६५ वर्षे उमेर हद कट्न २०७६ सालको असोज २४ गतेसम्म बाँकी छ। त्यो बेलासम्म उनले जागिर खान पाउनेछन् सर्वोच्चको न्यायाधिश बनेर। तर त्यसका लागि उनी आफैंले आफुभन्दा कनिष्ठलाई प्रधानन्यायाधिशका लागि सिफारिस गर्ने पत्रमा हस्ताक्षर गर्नु पर्ने छ र पछि उनैले तोकिदिएको इजलासमा लुरुलुरु गरेर कार्यसम्पदान गर्नुपर्ने हुन्छ।