arrow

नेपालीका घरघरमा ‘श्रीमद्भगवत्‌गीता’ अभियान

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
shrimad-bhagwat-geeta-asli-lahori-original-imaesctesjwvwycd.jpeg

काठमाडौँ । गीताको दर्शन सबै नेपालीलाई बुझाउने उद्देश्यले घर घरमा ‘श्रीमद्भगवत्‌गीता’ को नेपाली अनुवाद पुर्‍याउने अभियान शुरु गरिने भएको छ ।

गीता प्रेसले पहिलोपटक ‘श्रीमद्भगवत्‌गीता’ लाई नेपालीमा अनुवाद गरेको छ । नेपालीमा अनुवाद गरिएको ‘श्रीमद्भगवत्‌गीता’ आइतबार सार्वजनिक गरेपछि घरघरमा लैजाने अभियान शुरु गरिने गीता प्रेस पुस्तक बिक्री केन्द्र पशुपतिका अध्यक्ष जय किशन सारडाले जानकारी दिए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा गीता प्रेसको बिक्री केन्द्र खुलेको थियो । भूकम्पका बेला राहत लिएर गाउँगाउँ जाँदा आध्यात्मिक पुस्तकको माग बढी भएको पाएपछि केन्द्रको स्थापना गरेको उनले जानकारी दिए ।

पशुपतिस्थित सुमार्गी भवनमा विसं २०७३ जेठ २९ गते केन्द्रको स्थापना गरिएको थियो । केन्द्रको स्थापनासँगै गीता प्रेसले संस्कृत र हिन्दीलगायत भाषामा छापेका पुस्तक नेपालीमा अनुवाद शुरु गरेको थियो ।

हालसम्म २० वटा पुस्तक नेपालीमा अनुवाद भइसकेको छ । १० वटा अनुवाद भइरहेका छन् । पाँच वटा अनुवादको अन्तिम चरणमा पुगेको छ । ‘श्रीमद्भगवत्‌गीता’ को नेपाली अनुवाद लक्ष्मण भण्डारीले गरेका हुन् । तीन सय पृष्ठको पुस्तकको मूल्य रु २९ मात्र राखिएको गीता प्रेसले जनाएको छ ।

लोककल्याणका लागि मानिसलाई आध्यात्मिक ज्ञान दिने उद्देश्यले गीता प्रेसले न्यून मूल्यमा पुस्तक बिक्री गर्ने गरेको अध्यक्ष सारडाले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ